काठमाडौं : नेपालले एसियन सेन्ट्रल जोन सिनियर महिला भलिबल च्यालेन्ज कपको उपाधि जितेको छ । बंगलादेशको ढाकामा मंगलबार भएको फाइनलमा उज्वेकिस्तानलाई प्रतिस्पर्धात्मक ३–२ को सेटमा हराउँदै नेपालले उपाधि जितेको हो ।
ढाकाको मिरपुरस्थित सहिद सुरवर्दी इन्डोर स्टेडियममा निकै प्रतिस्पर्धात्मक खेलमा पहिलो सेट २६–२४ ले जितेको नेपालले दोस्रो सेट २६–२४ मै उज्वेकिस्तानलाई सुम्पिएको थियो । तेस्रो सेट २५–१५ ले आफ्नो पक्षमा पारेको नेपालले चौथो सेटमा खराब प्रदर्शन गरेपछि खेल पाँचौं सेटमा धकेलिएको थियो । चौथो सेट उज्वेकिस्तानले २५–२२ ले जित्दै २–२ को बराबरी गरेको थियो । पाँचौं सेटमा सुरुमा लय गुमाएको नेपालले उत्कृष्ट पुनरागमन गर्दै १५–१० ले जित निकाल्यो ।
यससँगै नेपालले अपराजित रहँदै एसियन सेन्ट्रल जोन सिनियर महिला भलिबल च्यालेन्ज कपको उपाधि जितेको हो । प्रतियोगिताको पहिलो खेलमा श्रीलंकालाई ३–२ ले पराजित गरेको नेपालले दोस्रो खेलमा माल्दिभ्सलाई ३–०, तेस्रो खेलमा बंगलादेशलाई ३–०, चौथो खेलमा उज्वेकिस्तानलाई ३–० र पाँचौं खेलमा किर्गिस्तानलाई ३–० को सोझो सेटमा पराजित गरेको थियो ।
नेपालले एसियन सेन्ट्रल जोन सिनियर महिला भलिबलको उपाधि दोस्रो पटक जितेको हो । यसअघि सन् २०१९ मा बंगलादेशमै भएको पहिलो संस्करणको उपाधि पनि नेपालले जितेको थियो । प्रतियोगितामा नेपालसहित आयोजक बंगलादेश, माल्दिभ्स, श्रीलंका, किर्गिस्तान र उज्वेकिस्तानले सहभागिता जनाएका थिए । ६ वटै टोलीले राउन्ड रोबिनका आधारमा प्रतिस्पर्धा गरेका थिए ।
यसैगरी पुरुषतर्फ तेस्रो स्थानका लागि भएको खेलमा भने नेपाल पराजित हुँदै चौथो स्थानमा खुम्चिएको छ । ढाकामा मंगलबार तेस्रो स्थानको लागि भएको खेलमा नेपाल उज्वेकिस्तानसँग ३–० को सोझो सेटमा पराजित भएको हो । एकपक्षीय खेलमा उज्वेकिस्तानले २५–१५, २५–१७, २५–२१ को सोझो सेटमा जित निकालेको हो ।
Previous Article

नेपालमाला
