काठमाडौं : नेपाल तेक्वान्दो संघ प्रदेश १ को अध्यक्षमा शैलेसकुमार विष्ट निर्वाचित भएका छन् । संघको हालै इटहरीमा सम्पन्न प्रथम अधिवेशनबाट विष्ट अध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन् ।
यसैगरी उपाध्यक्षमा शिवराज दाहाल र हिमाल गुरुङ, महासचिवमा गोपाल राई, सचिवमा सोमनाथ गौतम र कोषाध्यक्षमा माधव पौडेल निर्विरोध निर्वाचित भए । अधिवेशनबाट १० केन्द्रीय सदस्य पनि निर्विरोध निर्वाचित भएका छन् । बाँकी ११ केन्द्रीय सदस्य भने कार्यसमितिले मनोनीत गर्नेछ । प्रदेश कार्यसमिति २७ सदस्यीय रहनेछ ।
प्रथम अधिवेशनको उद्घाटन प्रदेश सांसद राजन राईले गरेका थिए । कार्यक्रमको विशेष अतिथिमा राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्यसचिव केशवकुमार विष्ट रहेका थिए ।
अधिवेशनमा नेपाल तेक्वान्दो संघका अध्यक्ष प्रकाशशम्शेर राणा, उपाध्यक्ष नन्दुकुमार राई, महासचिव दीपराज गुरुङ, प्राविधिक कमिटीका संयोजक टार्जन सुब्बा, केन्द्रीय सदस्य तथा जुनियर राष्ट्रिय टिम तयारी उपसमितिका संयोजक कुमार लामा घिसिङ, केन्द्रीय सदस्य तथा पुम्से निर्णायक उपसमितिका संयोजक बब्लु सिवाकोटी, केन्द्रीय सदस्य एवं सिनियर राष्ट्रिय टिम तयारी उपसमितिका संयोजक राम गिरी, केन्द्रीय सदस्य तथा प्राविधिक प्रशिक्षण व्यवस्था समितिका सदस्य सुमन पराजुलीलगायतको उपस्थिति रहेको थियो ।
Next Article

नेपालमाला
