पहिलो महाधिवेशन : २००३ माघ १२–१३ (भारतको कलकत्ता)
भवानीपुरस्थित खालसा हाइस्कुलमा बोलाइएको सम्मेलनलाई २००६ चैत २७ गते नेपाल राष्ट्रिय कांग्रेस र नेपाल प्रजातान्त्रिक कांग्रेसको एकीकरणबाट स्थापना भएको नेपाली कांग्रेसले पहिलो महाधिवेशन मान्दै आएको छ। तत्कालीन अवस्थामा जेलमा रहेका टंकप्रसाद आचार्य सभापति र विश्वेश्वरप्रसाद कोइराला कार्यवाहक सभापति निर्वाचित भएका थिए। जति बेला पार्टीको नाम नेपाली राष्ट्रिय कांग्रेस थियो। त्यति बेलादेखि नै कोइराला र रेग्मी गुट थिए।
दोस्रो महाधिवेशन : २००४ माघ २०–२२ (भारतको वनारस)
दोस्रो महाधिवेशनबाट बीपी कोइराला सभापति निर्वाचित भए। तर, उनी हिरासतमा भएकाले रिहाइ नभएसम्मका लागि डिल्लीरमण रेग्मीलाई कार्यवाहक सभापति बनाइएको थियो। बीपी कोइराला त्यही वर्ष भदौमा जेलमुक्त भए। उनी पुन: कार्यवाहक सभापति पदमा फर्कन चाहन्थे। तर, एक वर्षका लागि चुनिएका रेग्मीले पद त्याग गर्न अस्वीकार गरे। बीपीले २८ असोज २००४ मा आफू नै कार्यवाहक सभापति भएको घोषणा गरे।
रेग्मी त्योभन्दा एक कदम अगाडि बढे। उनले जेलमा रहेका टंकप्रसाद आचार्यलाई सभापतिबाट बर्खास्त गरे र आफैं सभापति भएको घोषणा गरे। त्यसपछि मात्र पार्टीको एउटै नाम नेपाली कांग्रेस राखिएको हो।
तेस्रो महाधिवेशन : २००५ फागुन १८ (भारतको बिहार)
दरभंगामा सम्पन्न महाधिवेशनबाट मातृकाप्रसाद कोइराला कार्यवाहक अध्यक्ष बने। त्यति बेला पनि बीपी कोइराला हिरासतमै थिए। बालचन्द्र शर्मा पार्टीको प्रधानमन्त्री भए।
चौथो महाधिवेशन : २००६ चैत १७ (भारतको कलकत्ता)
नेपाली राष्ट्रिय कांग्रेस र २००४ साउन १ मा स्थापना भएको नेपाल प्रजातन्त्र कांग्रेसबीच २००६ चैत २७ गते कलकत्तामा एकीकरण भएसँगै नेपाली कांग्रेसको स्थापना भयो। एकीकरणसँगै कलकत्ताको टाइगर हलमा पार्टीको चौथो महाधिवेशन सम्पन्न भयो। महाधिवेशनले मातृकाप्रसाद कोइरालालाई सभापति छानेको थियो। उक्त महाधिवेशनबाट नेपाली कांग्रेसले पहिलो युगान्तकारी घोषणापत्र जारी गर्यो।
पाँचौं महाधिवेशन : २००९ जेठ १०–१३ (जनकपुर)
यो महाधिवेशनबाट विश्वेश्वरप्रसाद कोइराला सभापति चयन भए। सरकार सञ्चालनका क्रममा पार्टी निर्देशन नमानेको भन्दै काठमाडौंको विशालनगरमा सम्पन्न महासमिति बैठकले प्रधानमन्त्री मातृकाप्रसाद कोइराला, नारदमणि थुलुङ र महावीर शमशेरलगायत नेतालाई कारबाही गरेपछि पार्टी फुटेको थियो।
छैटौं महाधिवेशन : २०१२ माघ (वीरगन्ज)
छैटौं महाधिवेशनबाट सुवर्णशमशेर राणा सभापति निर्वाचित भए। यो महाधिवेशनले औपचारिक रूपमा समाजवादलाई अंगालेको थियो।
विशेष महाधिवेशन : २०१४ साल (विराटनगर)
आन्तरिक विवादका कारण २०१४ सालमा विराटनगरमा विशेष महाधिवेशन भयो। यो विशेष महाधिवेशनले बीपी कोइरालालाई सभापति, सूर्यप्रसाद उपाध्याय र गणेशमान सिंहलाई महामन्त्री तथा सुवर्णशमशेरलाई कोषाध्यक्षमा मनोनयन गरेको थियो।
सातौं महाधिवेशन : २०१६ वैशाख २५–३१ (काठमाडौं)
काठमाडौंमा सम्पन्न महाधिवेशनले बीपी कोइरालालाई पुन: सभापति बनायो। तर २०१७ पुस १ गते नेपाल तरुण दलको सम्मेलन स्थलबाट प्रधानमन्त्री कोइराला, मन्त्रीहरू गणेशमान सिंह, सूर्यप्रसाद उपाध्याय र सभामुख कृष्णप्रसाद भट्टराई गिरफ्तार भए। तत्कालीन राजा महेन्द्रले आफ्नो महत्वकांक्षामा राजनीतिक पार्टीहरू बाधक भएको भन्दै ०१७ पुस २२ गते सबै पार्टीमाथि प्रतिबन्धको घोषणा गरे।
आठौं महाधिवेशन : २०४८ माघ ३ (झापाको कलवलगुडी)
यो महाधिवेशनबाट कार्यवाहक अध्यक्ष कृष्णप्रसाद भट्टराई सभापति निर्वाचित भए। गिरिजाप्रसाद कोइराला महामन्त्रीमा निर्वाचित भए। त्यस बेला दुई पक्षलाई मिलाउने पक्षमा गणेशमान सिंह थिए। उक्त महाधिवेशनमा स्टेज काण्ड भएको थियो। गणेशमान स्टेजबाट लडेका थिए। तत्कालीन समयमा खुबै चर्चाको विषय पनि भएको थियो।
नवौं महाधिवेशन : २०५३ (काठमाडौं)
यो महाधिवेशनमार्फत गिरिजाप्रसाद कोइरालाले कांग्रेस सभापतिको नेतृत्व पाए।
१० औं महाधिवेशन : २०५७ (पोखरा)
१० औं महाधिवेशनमा गिरिजाप्रसाद कोइराला नै सभापति निर्वाचित भए।
११ औं महाधिवेशन २०६२ (ललितपुर)
११ औं महाधिवेशनमा पनि गिरिजाप्रसाद कोइराला नै सभापति बने।
१२ औं महाधिवेशन : २०६७ असोज १–५ (काठमाडौंको भृकुटीमण्डप)
यो महाधिवेशनमा शेरबहादुर देउवालाई पराजित गरी सुशील कोइराला सभापति बने।
१३ औं महाधिवेशन : २०७२ फागुन २०–२३ (काठमाडौंको भृकुटीमण्डप)
१३ औं महाधिवेशनमा वरिष्ठ नेता रामचन्द्र पौडेललाई पराजित गर्दै शेरबहादुर देउवा सभापति निर्वाचित भए। त्यसपछि पाँचौं पटक मिति सारेर १४ औं महाधिवेशन हुन लागेको हो।

नेपालमाला
