आबुधावी : न्युजिल्यान्ड टीट्वेन्टी विश्वकप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । बुधबार राति आबुधावीमा भएको सेमिफाइनलमा बलियो प्रतिद्वन्द्वी इङ्ल्यान्डलाई पाँच विकेटले पराजित गर्दै न्युजिल्यान्ड उपाधि नजिक पुगेको हो ।
आबुधावीको शेख जायद स्टेडियममा इङ्ल्यान्डले दिएको एक सय ६७ रनको लक्ष्य पछ्याएको न्युजिल्यान्डले १९ ओभरमा पाँच विकेट गुमाएर जित निकालेको थियो । न्युजिल्यान्डलाई फाइनलमा पु¥याउन ड्रियल मिचेलले अर्धशतकीय पालि खेलेका थिए । आक्रामक ब्याटिङ गरेका उनले ४७ बलमा चार छक्का र चार चौकाको मद्दतमा अविजित ७२ रन बनाए ।
१३ रनमा दुई महत्वपूर्ण विकेट गुमाएको न्युजिल्यान्डलाई मिचेल र डेभोन कनवेले सम्हालेका थिए । उनीहरुले ५२ रनको महत्वपूर्ण साझेदारी गरेका थिए । मिचेलले ७२ रन बनाउँदा कनवेले ४६ रनको पालि खेले । यस्तै जेम्स निसमले २७, मार्टिन गप्टिलले चार र कप्तान केन विलियम्सनले पाँच रनको योगदान दिए । इङ्ल्यान्डका क्रिस वोक्स र लाइम लिभिङटनले दुई÷दुई विकेट लिए । यस्तै अदिल रसिदले एक विकेट हात पारे ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको इङ्ल्यान्डले निर्धारित २० ओभरमा चार विकेट गुमाएर एक सय ६६ रनको योगफल खडा गरेको थियो । इङ्ल्यान्डका मोइन अलीले अर्धशतकीय पालि खेलेका थिए । ३७ बलमा दुई छक्का र तीन चौकाको मद्दतमा उनले अविजित ५१ रन बनाए । यसैगरी डाविड मालनले ४१, जोस बटलरले २९, लाइम लिभिङटनले १७ र जोनी बेयरस्टोले १३ रन बनाए । न्युजिल्यान्डका टिम साउथी, एडम मिल्ने, इश सोधी र जेम्स निसमले एक÷एक विकेट हात पारे ।
न्युजिल्यान्ड टीट्वेन्टी विश्वकपमा पहिलो पटक फाइनलमा पुगेको हो । यसअघिका संस्करणमा न्युजिल्यान्ड सेमिफाइनलबाट अगाडि बढ्न सकेको थिए । न्युजिल्यान्ड समूह दुईको उपविजेता बन्दै अन्तिम चारमा पुगेको हो । एकदिवसीय विश्वकप विजेता इङ्ल्यान्ड समूह एकबाट विजेता बन्दै सेमिफाइनलमा पुगेको थियो ।
टीट्वेन्टी विश्वकपअन्तर्गत बिहीबार पाकिस्तान र अस्ट्रेलियाबीच दोस्रो सेमिफाइनल खेल हुनेछ । दुबईमा हुने खेल साँझ ७ः४५ मा सुरु हुनेछ । पाकिस्तान समूह दुईको विजेता बन्दै सेमिफाइनलमा पुगेको हो भने अस्ट्रेलिया समूह एकमा दोस्रो स्थान हात पार्दै अन्तिम चारमा स्थान बनाएको हो ।

नेपालमाला
