सुर्खेत : सुर्खेतमा बेवारिसे बम विष्फोट भएको छ। विष्फोटमा दुई जना घाइते भएका जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ। वीरेन्द्रनगरको वडा नं ७ मा रहेको कटकुवा सामुदायिक वनमा शनिबार बिहान उक्त बम विष्फोट भएको हो।
विष्फोटमा परी वनमा घाँस काट्न गएका एक घरका दुई जना घाइते भएका छन्। प्रहरीका अनुसार विष्फोटमा घाइते हुनेमा दैलेखको गुराँस गाउँपालिका–६ का लिला नेपाली र नरेश नेपाली रहेका छन्। कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एसपी माधवप्रसाद श्रेष्ठका अनुसार घाइते हुने लिला दिदी हुन् भने नरेश उनका भाइ हुन्। उनीहरुको अहिले वीरेन्द्रनगरमा रहेको देउती अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
प्रदेश प्रहरी कार्यालयले सशस्त्र द्वन्द्वका बेलामा तत्कालीन माओवादीले छाडेको बम अहिले विष्फोट भएको आशंका गरेको छ। प्रहरीका अनुसार घाइते दुबै जनाको अवस्था अहिले सामान्य छ। दैलेख घर भए पनि हाल वीरेन्द्रनगर–७ इत्राममा बस्दै आएका उनीहरु शनिबार बिहान घाँस लिन बनमा गएका थिए। त्यही क्रममा बेवारिसे अवस्थामा रहेको बमलाई उनीहरुको खुट्टाले छुँदा विष्फोट भएको प्रहरीले जनाएको छ।

नेपालमाला
