काठमाडौं : नेपाली फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले दक्षिण एसिया फुटबल महासंघ (साफ) ले आफूमाथि अन्यायपूर्ण निर्णय गरेको बताएका छन् । साफले आफ्नो नियमावलीविपरित फाइनल खेलका लागि आफूलार्ई प्रतिबन्ध लगाउने निर्णय गरेको भन्दै भर्चुअल पत्रकार सम्मेलनमार्फत असन्तुष्टि पोखेका हुन् । ‘साफले ममाथि अन्याय ग¥यो । व्यक्तिगत रिसइवी साँध्न आफ्नै नियमावली विपरीत साफले कारवाही गरेको हो’, मुख्य प्रशिक्षक अलमुताइरीले भने, ‘यो कारवाही व्यक्तिगत रुपमा मलाई मात्र नभएर नेपाली राष्ट्रिय टोलीको प्रशिक्षकमाथि हो । नेपाली फुटबलमाथिको कारवाही हो ।’
उनले नियमावलीमै नभएको कारण देखाउँदै आफूलाई कारवाही गरेकोमा उनले दुःख पनि ब्यक्त गरे । ‘साफको निर्णयले मलाई निकै दुख लागेको छ । साफले ममाथि किन निशाना साँधेको हो ?’, उनले प्रश्न गर्दै भने, ‘मलाई किन यस्तो व्यवहार गरियो । मैले बुझ्न सकेको छैन ।’
साफले गरेको अन्यायविरुद्ध आफू कोर्ट अफ आर्बिट्रेसन इन स्पोर्ट्स (कास)मा समेत जाने उनले बताए । ‘यो निर्णय सही भएन । मुख्य खेल खेलाउने एउटा प्रशिक्षकको सपना चकनाचुर भयो’, उनले भने, ‘भारतका प्रशिक्षक प्रतिबन्धमा परेपछि मलाई पनि कारवाही गरिएको हो । यो सरासर अन्यायपूर्ण निर्णय हो ।’
प्रतियोगिताको लिग चरणका दौरान दुई फरक खेलमा पहेंलो कार्ड पाएको भन्दै साफले उनीमाथि प्रतिबन्ध लगाएको हो । साफले तयार पारेको प्रतियोगिताको नियमावली अनुसार फरक खेलमा पहेंलो कार्ड पाएमा खेलाडीले अर्को खेल खेल्न नपाउने उल्लेख छ । खेलका क्रममा रातो कार्ड पाएमा भने अफिसियलले पनि अर्को खेल गुमाउने नियमावलीमा उल्लेख छ । तर, साफले अलमुताइरीले दुई फरक खेलमा पहेंलो कार्ड पाएको कारण देखाउँदै फाइनलमा प्रतिबन्ध गरेको हो । अलमुताइरीले आफ्नै नियमको उल्लंघन गर्दै अन्यायपूर्ण निर्णय गर्ने साफबाट के अपेक्षा गर्ने भन्ने प्रश्न गरे । ‘साफले नियम मान्नुपर्छ । मलाई लाग्छ साफले एकपक्षीय निर्णय गरेको छ । किन मेरा लागि आफ्नै नियमको सम्मान गरेन’, उनले भने, ‘खेल मैदानभित्र खेल्ने हो, मैदानबाहिर होइन । साफ चाहन्छ भने सिधै भारतलाई उपाधि दिए भयो । भारतका प्रशिक्षकले रातो कार्ड पाए भनेर मलाई कारवाही गर्नु उचित भएन ।’
उनले आफू मैदानभित्र नभए पनि टोलीले उपाधिका लागि उत्कृष्ट खेल खेल्ने बताए । ‘म त्यहाँ भए पनि नभए पनि टोलीले उपाधिका लागि खेल्नेछ’, उनले भने । अलमुताइरीले साफको नियमावली राख्दै साफको निर्णय न्यायसंगत नभएको बताएका थिए ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले यसबारे साफको निर्णयका विषयमा पत्राचार पनि गरिसकेको जनाइएको छ । एन्फाले प्रतियोगिता नियमावली अनुसार अलमुताइरीलाई प्रतिबन्ध लगाउनु उचित नभएको भन्दै साफलाई पत्राचार गरेको एन्फा स्रोतले जनाएको छ । तर, यस बारे साफले अहिलेसम्म कुनै धारणा सार्वजनिक गरेको छैन ।
साफ च्याम्पियनसिपको उापधिका लागि नेपालले शनिबार राति भारतको सामना गर्दैछ । माल्दिभ्सको राजधानी मालेमा हुने फाइनल खेल राति ८ः४५ बजे सुरु हुनेछ ।

नेपालमाला
