काठमाडौं : नेपाल तेक्वान्दो संघको केन्द्रीय सदस्यमा तेक्वान्दो प्रशिक्षक तथा निर्णायक बब्लु शिवाकोटी मनोनित भएका छन् । संघको यही असोज २० गते बसेको पहिलो बैठकले शिवाकोटीलाई केन्द्रीय सदस्यमा मनोनित गरेको हो ।

लामो समयदेखि तेक्वान्दोको विकास र विस्तारमा क्रियाशील रहँदै आएका शिवाकोटीलाई संघको विधानको दफा ४ बमोजिम केन्द्रीय सदस्यमा मनोनित गरेको हो । ‘संघको विधानले दिएको अधिकारको परिधि र पदवी मर्यादाभित्र रहेर यस संस्थाको गरिमा र ऐकमत्यलाई कायम राख्दै तेक्वान्दो खेलको विकास र विस्तारमा अग्रणी भूमिका निर्वाह गर्दै आफ्नो सहकर्मी र सचिवालयसँग समन्वयकारी एवं समझदारीसहित सहकार्य हुनेछ भन्ने विश्वासका साथ तपाईलाई यो नियुक्तिपत्र प्रदान गरिएको छ’, संघका नवनिर्वाचित अध्यक्ष प्रकाशशम्शेर राणाद्वारा हस्ताक्षरित मनोनयनपत्रमा भनिएको छ ।

लुम्बिनी प्रदेशको भैरहवामा शनिबार भएको चौथो अघिवेशनबाट राणा सर्वसम्मत रुपमा अध्यक्षमा चयन भएका थिए । राणाले २०७० सालदेखि लगातार संघको नेतृत्व गर्दै आएका छन् । उनी २०७० मा झापाको बितामोर्डमा भएको दोस्रो अधिवेशनबाट पहिलो पटक अध्यक्षमा निर्वाचित भएका थिए ।
लामो समय तेक्वान्दो खेलको विकास र विस्तारमा पु¥याएको योगदानको कदर गर्दै संघले शिवाकोटीलाई केन्द्रीय सदस्यमा मनोनित गरेको हो । रौतहटको सन्तपुर–६ मा जन्मिएका शिवाकोटीले अहिले नागार्जुन–४, सीतापाइलालाई कर्मभूमि बनाउँदै आएका छन् । काठमाडौं जिल्ला तेक्वान्दो संघका निवर्तमान कोषाध्यक्षसमेत रहेका शिवाकोटीले विभिन्न विद्यालय र सीतापाइला तेक्वान्दो डोजाङमार्फत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी उत्पादनमा योगदान पु¥याउँदै आएका छन् । लामो समय खेलाडी जीवन बिताएका शिवाकोटी अहिले प्रशिक्षकको भूमिका निर्वाह गर्दै आएका छन् ।

सीतापाइला तेक्वान्दो डोजाङले २०६७ सालदेखि नै लगातार उत्कृष्ट नतिजा पनि दिँदै आइरहेको छ । हरेक राष्ट्रिय प्रतियोगितामा उत्कृष्ट नतिजा दिँदै आएको सीतापाइला डोजाङले विदेशबाट पनि पदक भित्र्याउँदै आएको छ । डोजाङका खेलाडीले विश्वका १० भन्दा बढी राष्ट्रमा पुगेर विभिन्न प्रतियोगितामा प्रतिस्पर्धा गर्नुका साथै पदक पनि भित्र्याइसकेका छन् ।

नेपालमाला
