काठमाडौं : अन्तर्राष्ट्रिय बक्सिङ दिवसको अवसरमा काठमाडौं जिल्ला बक्सिङ संघले शुक्रबार खेल पत्रकारहरुलाई बक्सिङ खेलबारे प्रशिक्षण दिएको छ ।
संघले आयोजना गरेको प्रशिक्षण कार्यक्रममा ४६ जना खेल पत्रकारहरुको सहभागिता रहेको थियो । सहभागीलाई वरिष्ठ प्रशिक्षक अनुप लामाले बक्सिङ खेलको सैद्धान्तिक र प्राविधिक पक्षबारे प्रशिक्षण दिएका थिए ।
हरेक वर्ष अगस्ट २७ तारिखमा विश्वभर विभिन्न कार्यक्रम गरी अन्तर्राष्ट्रिय बक्सिङ दिवस मनाइएको छ । सोही क्रममा काठमाडौं जिल्ला बक्सिङ संघले खेल पत्रकारलाई प्रशिक्षण दिएको हो ।

प्रशिक्षण कार्यक्रमको उद्घाटन समारोहका प्रमुख अतिथि राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रमेशकुमार सिलवालले अन्तर्राष्ट्रिय बक्सिङ दिवसको अवसरमा शुभकामना दिँदै यस्ता कार्यक्रम खेलकुद विकासमा सहयोगी हुने विश्वास व्यक्त गरे । उनले बक्सिङ संघमा देखिएको विवाद छिटो हल गर्ने पनि बताए ।
काठमाडौं जिल्ला बक्सिङ संघका अध्यक्ष दिनकलाल श्रेष्ठले बक्सिङ दिवसको अवसरमा नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) सँग मिलेर कार्यक्रम गर्न पाउनु खुशीको क्षण भएको बताए ।
नेपाल खेलकुद पत्रकार मञ्चका अध्यक्ष दुर्गा नाथ सुवेदीले पत्रकारहरुलाई बक्सिङ खेलको प्राविधिक पक्षमा प्रशिक्षणले अब्बल बनाउने अपेक्षा गर्दै यसबाट आगामी दिनमा बक्सिङको समाचार संकलन तथा लेखनमा महत्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
कार्यक्रमका अतिथि नेपाल बक्सिङ संघका महासचिव सविन भट्टाचार्यले बक्सिङ नेपालमा पदकको सम्भावना बोकेको खेल भएकोले यसको विकासमा ध्यान दिन सरोकार वाला सबै पक्षको ध्यानाकर्षण गराए ।

यसैगरी एनएसजेएफ एकेडेमीका संयोजक निरञ्जन अधिकारीले पत्रकारहरुलाई विभिन्न खेलको प्राविधिक पक्षबारे जानकारी गराउने उद्देश्यमा ‘नो योर गेम’ शृंखला सुरु गरिएको जनाकारी गराए । त्यही शृंखलाअन्तर्गत बक्सिङ दिवसको अवसरमा बक्सिङ खेलको कार्यक्रम गरिएको र आगामी दिनमा अन्य खेललाई समेत निरन्तरता दिईने पनि अधिकारीले बताए । कार्यक्रममा नेपाल बक्सिङ संघका पदाधिकारी, खेलाडी, प्रशिक्षक, रेफ्री लगायतको उल्लेख्य सहभागिता रहेको थियो ।
प्रशिक्षणमा नेपाली बक्सिङको इतिहास, यसको अन्तर्राष्ट्रिय इतिहास, बक्सिङ खेलको उत्पत्ति, तथा यो खेलका प्राविधिक पक्षबारे पत्रकारहरुलाई जानकारी गराइएको छ ।

नेपालमाला
