रियो दी जेनेरियो : आयोजक ब्राजिल कोपा अमेरिका फुटबलको फाइनलमा प्रवेश गरेका छ । मंगलबार बिहान भएको पहिलो सेमिफाइनलमा पेरुलाई १–० गोलले पराजित गर्दै ब्राजिल उपाधि नजिक पुगेको हो ।
निकै प्रतिस्पर्धातमक खेलमा ब्राजिललाई जित दिलाउन लुकास पक्केटाले निर्णायक गोल गरेका थिए । पेरुका गोलरक्षक तथा कप्तान पेड्रो गाइलिजले एकपछि अर्को बचाउ गर्दा ब्राजिलले अग्रता लिन ३५ मिनेटसम्म प्रतीक्षा गर्नुपरेको थियो । गाइलिजले ब्राजिलका सातभन्दा बढी उत्कृष्ट प्रहारलाई विफल पारेका थिए । खेलको आठौं मिनेटमा रिचार्लिसनले गोलरक्षक गाइलिजलाई बिट गर्दै नेमारलाई सुन्दर पास उपलब्ध गराए पनि उनले बललाई पोस्ट्को दिशा दिन सकेनन् ।
१३औं मिनेटमा क्यासेमिरोले पेनाल्टी क्षेत्र बाहिरबाट गरेको शक्तिशाली प्रहारलाई गाइलिजले विफल पारेका थिए । त्यसलगत्तै एभर्टनको प्रहार पनि गाइलिजले विफल पारेका थिए । १९औं मिनेटमा गाइलिजले लगातार तीन उत्कृष्ट बचाउ गर्दै ब्राजिललाई अग्रता लिन दिएनन् । क्यासेमिरोको लामो प्रहार बचाएका उनले रिचार्लिसन र नेमारको प्रहारलाई पनि विफल पारेका थिए । खेलको ३५औं मिनेटमा नेमारले पेरुका डिफेन्सलाई बिट गर्दै उपलब्ध गराएको पासमा पक्वेटाले गोल गर्दै ब्राजिललाई अग्रता दिलाएका थिए ।
दोस्रो हाफको सुरुवातमै पेरुले खेलमा फर्कने राम्रो अवसर गुमाएको थियो । पेरुका स्ट्राइकर जियानलुका लापादुलाले डिबक्स भित्रबाट गरेको सशक्त प्रहारलाई ब्राजिलका गोलरक्षक एन्डरसन मोरेसले विफल पारेका थिए । दोस्रो हाफमा पेरुले सुधारिएको प्रदर्शन गरे पनि पाएका अवसर सदुपयोग गर्न नसक्दा गोल फर्काउन सकेन । पहिलो गोल गरेपछि बलमाथि पक्कड जमाएर रक्षात्मक खेल खेलेको ब्राजिलले पेरुलाई खेलमा फर्कन दिएन् ।
दक्षिण अमेरिकी राष्ट्रहरुको सबैभन्दा ठूलो प्रतियोगिता कोपा अमेरिकाको ब्राजिल साविक विजेता पनि हो । सन् २०१९ मा ब्राजिलले पेरुलाई नै ३–० गोलले पराजित गर्दै उपाधि जितेको थियो । ब्राजिलले अहिलेसम्म नौ पटक कोपा अमेरिका फुटबलको उपाधि जितिसकेको छ ।
ब्राजिलले अब उपाधिका लागि अर्जेन्टिना र कोलोम्बियाबीचको विजेतासँग आगामी आइतबार खेल्नेछ । पेरुले भने तेस्रो स्थानका लागि शनिबार बिहान प्रतिस्पर्धा गर्नेछ । अर्जेन्टिना र कोलम्बियाबीचको दोस्रो सेमिफाइनल खेल बुधबार बिहान हुँदैछ ।
दक्षिण अमेरिकी राष्ट्रको प्रतिष्ठित कोपा अमेरिकाको ४७औं संस्करण गत वर्ष नै सम्पन्न हुनुपर्ने थियो । कोरोना भाइरसको महामारीका कारण एक वर्ष पर धकेलिएको प्रतियोगिता सुरुमा अर्जेन्टिना र कोलम्बियाले आयोजना गर्ने तय भएको थियो । प्रतियोगिता सुरु हुनु केही समयअघि कोरोना भाइरसको महामारी देखाउँदै अजेन्टिना र कोलम्बियाले प्रतियोगिता आयोजनाबाट नाम फिर्ता लिएपछि ब्राजिलले जिम्मा लिएको हो ।
ब्राजिलमा पनि प्रतियोगिताको आयोजनालाई लिएर विभिन्न बहस र विवाद भए पनि प्रतियोगिता निर्धारित समयमै सुरु भएको थियो । ब्राजिलका खेलाडीले पनि सुरुमा कोपा अमेरिका आयोजनाको विपक्षमा मत राखेका थिए । उनीहरूले आफूहरू प्रतियोगिता आयोजनाको विपक्षमा रहे पनि प्रतियोगिता बहिष्कार नगर्ने स्पष्ट पारेका थिए । यसैगरी ब्राजिलका सिनेटर रेनन कालहेइरोसले कोपा अमेरिका फुटबललाई मृत्युको महोत्सवको संज्ञा दिँदै प्रतियोगितामा भाग नलिन खेलाडीलाई सुझाव दिएका थिए । प्रतियोगिता आयोजना रोक्न माग गर्दै ब्राजिलको सर्वोच्च अदालतमा रिट पनि परेको थियो । प्रतियोगिता सुरु हुनु एक दिन अघि अदालतले रिट खारेज गर्दै प्रतियोगिता आयोजनाको बाटो खोलिदिएको थियो ।
Previous Article
आजदेखि भेरोसेल खोपको दोस्रो मात्रा लगाइँदै
Next Article

नेपालमाला
