रियो दी जेनेरियो : अर्जेन्टिना इक्वेडरलाई पराजित गर्दै कोपा अमेरिका फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । आइतबार बिहान भएको अन्तिम क्वार्टरफाइनलमा इक्वेडरलाई ३–० पराजित गदै अर्जेन्टिनाले अन्तिम चारमा स्थान बनाएको हो ।
खेलको सुरुवातदेखि नै एकपक्षीय आक्रमण गरेको अर्जेन्टिनाले गोलको थुप्रै अवसर सिर्जना गरेको थियो । इक्वेडरका गोलरक्षक पहिलो हाफमा व्यस्त रहँदै केही राम्रा प्रहार बचाउ गरेका थिए । इक्वेडरले काउन्टर एट्याकमा दुई अवसर सिर्जना गरे पनि त्यसको सदुपयोग हुन सकेन ।
दोस्रो हाफमा इक्वेडरले सुधारिएको प्रदर्शन गर्दै केही समय अर्जेन्टिनालाई दबाबमा राखेको थियो । लगातार अवसर सिर्जना गरे पनि त्यसलाई सदुपयोग गर्न नसक्दा खेलमा फर्किन सकेन ।
खेलको ४०औं मिनेटमा रोड्रिगो डे पलले गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए । ८४औं मिनेटमा अर्जेन्टिनाले लाउटारो मार्टिनेजको गोलमा अग्रता दोब्बर पारेको थियो । मार्टिनेजले वान भर्सेस वानमा गोल गरेका थिए । त्यसपछि इन्जुरी समयमा कप्तान मेसीले फ्रिकिकमा गोल गर्दै अर्जेन्टिनालाई सहज जित दिलाए । पेनाल्टी क्षेत्रबाहिर एञ्जल डी मारियालाई लडाएपछि रेफ्रीले भीएआरको सहयोगमा अर्जेन्टिनालाई फ्रिकिक दिएका थिए । अर्जेन्टिनाले फाइनल प्रवेशका लागि कोलोम्बियासँग प्रतिस्पर्धा गर्नेछ ।
यससँगै कोपा अमेरिका फुटबलको सेमिफाइनल समीकरण पनि पूरा भएको छ । सेमिफाइनलमा अर्जेन्टिना, कोलम्बियासँगै ब्राजिल र पेरुले पनि अन्तिम चारमा स्थान बनाएका छन् । ब्राजिल र पेरुबीचको सेमिफाइनल मंगलबार हुनेछ । यस्तै अर्जेन्टिना र कोलम्बियाले बुधबार प्रतिस्पर्धा गर्ने छन् ।

नेपालमाला
