धरान : गत चैतको अन्तिम साता धरानमा सम्पन्न पहिलो वीर गणेशमान सिंह नोभिस बक्सिङ च्याम्पियनसीपका स्वर्ण पदकधारीलाई धरान उपमहानगरपालिकाले नगदसहित सम्मान गरेको छ ।
सुनसरी बक्सिङ संघको आयोजनामा शुक्रबार धरान–१६ स्थित रंगशालमा सम्पन्न कार्यक्रममा धरानका ७ जना स्वर्ण पदकधारीलाई नगद ५ हजार रुपैयाँले सम्मानित गरिएको हो ।

नेपाल बक्सिङ संघ सुनसरीका अध्यक्ष विकासकुमार गुभाजूका अनुसार च्याम्पियनसीपमा स्वर्णपदक जितेकाहरूलाई नगदले प्रोत्साहित गरिएको हो । बक्सिङ खेलमा पहिलोपटक रिङमा प्रवेश गर्ने खेलाडीलाई नोभिस भनिन्छ । धरान उपमहानगरका प्रमुख तिलक राईले स्वर्ण पदकधारीलाई नगद ५ हजार रुपैयाँ दिने घोषणा गरेअनुसार शुक्रबार पुरस्कार प्रदान गरिएको हो ।
प्रतियोगितामा रामकुमारी लिम्बू, एलिस्का रत्न, सिर्जना गुरुङ, सिंहवीर लिम्बू, सौगात लामा, धिरज गुरुङ र अमृत लिम्बूले स्वर्णपदक हात पारेका थिए । उनीहरूले ४८ केजी तौल समूहदेखि ७५ केजी तौल समूहसँग भिडन्त गरेका थिए ।

कार्यक्रममा नगर प्रमुख तिलक राई, युवा खेलकुद तथा शिक्षा महाशाखाका प्रमुख रत्नबहादुर कट्वाल, धरान–१८ का वडाध्यक्ष प्रवीण राई, नेपाल बक्सिङ संघका केन्द्रीय सदस्य देवेन्द्रबहादुर लिम्बूलगायतले नगद पुरस्कार प्रदान गरेका थिए । धरान–१३ को अमरहाटस्थित अमर बहुउद्देश्यीय भवनमा चैत २६ देखि २८ गतेसम्म प्रदेश १ स्तरीय प्रतियोगिता भएको थियो । जहाँ प्रदेश १ का सुनसरी, मोरङ, झापा, उदयपुरका ४० जना खेलाडी सहभागी थिए ।

नेपालमाला
