काठमाडौं : यही महिना जापानमा सुरु हुने टोकियो ओलम्पिकमा नेपालका पाँच खेलाडीले प्रतिस्पर्धा गर्ने निश्चित भइसकेको छ । उनीहरु लामो समयदेखि ओलम्पिकको तयारीमा व्यस्त छन् । तर, बिहीबार एक्कासी एथलेटिक्स खेलाडी गोपीचन्द्र पार्कीको स्थानमा अर्की एथलेटिक्स खेलाडी सरस्वती चौधरीले ओलम्पिक खेल्ने घोषणा गरिएको छ ।
राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रमेशकुमार सिलवा, नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ र नेपाल एथलेटिक्स संघका अध्यक्ष राजीवविक्रा शाहले बिहीबार एक विज्ञप्ति निकाल्दै नियमित कोटाअन्तर्गत म्याराथनमा नभई एथलेटिक्सको एक सय मिटर दौडमा मात्रै कोटा पाएको भन्दै गोपीको स्थानमा सरस्वतीले ओलम्पिक खेल्ने जनाएको छ ।
यसअघि म्याराथन धावक गोपीचन्द्र पार्कीले नियमित कोटामा टोकियो ओलम्पिक खेल्ने तयारी थियो । टोकियो ओलम्पिकको छनोटका रुपमा नेपालगञ्ज म्याराथनलाई लिइएको थियो । १३औं दक्षिण एसियाली खेलकुदमा पाँच हजार मिटर दौडका स्वर्ण विजेता पार्कीले नेपालगञ्ज म्याराथनको उपाधि जित्दै ओलम्पिकका लागि छनोट भएका थिए । उनले त्यही अनुसार तयारी पनि गरिरहेका थिए ।
तर, विश्व एथलेटिक्सको प्राविधिक कमिटीले नेपाललाई म्याराथनमा नभई महिला एक सय मिटरमा कोटा दिएका कारण सरस्वतीलाई पठाइएको विज्ञप्तिमा जनाइएको छ । म्याराथनमा कोटाभन्दा बढी आवेदन परेकाले नेपाललाई महिला एक सय मिटर दौडमा कोटा छुट्टयाएको जनाइएको छ ।
‘नेपाललाई म्याराथनमा नभई महिला विधाको एक सय मिटर दौडमा कोटा छुट्टाइएको जानकारी प्राप्त भएको थियो । नेपाल ओलम्पिक कमिटी र नेपाल एथलेटिक्स संघले सम्बन्धित निकायमा पार्कीको सहभागिताका लागि अथक प्रयास गरिएको थियो’, बिहीबार जारी विज्ञप्तिमा भनिएको छ, ‘तर, त्यो सम्भव हुन सकेन । नेपाललाई उपलब्ध कोटा अनुसार नेपालका उत्कृष्ट खेलाडी सरस्वती चौधरीको नाम पठाइएको बेहोरा सबैमा जानकारी गराइन्छ ।’
सन् २०१६ मा ब्राजिलमा आयोजना भएको रियो ओलम्पिकमा नेपालबाट महिला एक सय मिटर दौडमा सरस्वती भट्टराई र म्याराथनमा हरिकुमार रिमालले प्रतिस्पर्धा गरेका थिए । यसअघिका संस्करणमा दुई वटा कोटा पाउँदै आएकोमा अहिलेको विशेष परिस्थितिका कारण एउटा मात्र कोटा पाएको नेपाल एथलेटिक्स संघका अध्यक्ष राजीवविक्रम शाहले जानकारी दिए । उनले यस पटक दुवै कोटा गुमिसकेको अवस्थामा विश्व एथलेटिक्स महासंघसँग पहल गरेर महिला कोटा पाउन सफल भएको बताए । ‘यसअघि हामीले दुई वटा कोटा पाउँदै आएका थियौं । कोरोना भाइरसको महामारीको विशेष परिस्थितिका कारण यस पटक दुवै कोटा गुम्न लागेको थियो’, उनले भने, ‘विश्व एथलेटिक्स महासंघसँग पहल गरेर महिला कोटा भए पनि ल्याउन सफल भएका छौं ।’
नेपालबाट अब सरस्वतीसहित पौडीकी गौरिका सिंह र एलेक्स शाह तथा सुटिङकी कल्पना परियार र जुडोकी सोनिया भट्टले टोकियो ओलम्पिकमा प्रतिनिधित्व गर्ने छन् । टोकियो ओलम्पिक जुलाई २३ देखि अगस्ट ८ सम्म आयोजना हुँदैछ । यस पटकको ओलम्पिकमा ३३ खेलमा तीन सय ३९ पदकका लागि प्रतिस्पर्धा हुनेछ ।


नेपालमाला
