लन्डन : युरोपको विभिन्न ११ शहरमा जारी १६औं संस्करणको युरोकप फुटबलको क्वार्टरफाइनल समीकरण पूरा भएको छ । मंगलबार राति अन्तिम १६ अन्तर्गत स्विडेन र युक्रेनबीचको खेलसँगै अन्तिम आठमा पुग्ने टोलीको टुंगो लागेको हो ।
यस पटक बेल्जियम, इटाली, स्पेन, स्विट्जरल्यान्ड, डेनमार्क, इङ्ल्यान्ड, चेक रिपब्लिक र युक्रेनले अन्तिम आठमा स्थान बनाएका छन् । साविक विजेता पोर्चुगल, उपविजेता फ्रान्स, जर्मनी, नेदरल्यान्ड्सजस्ता टोली भने अन्तिम १६ बाटै घर फर्किएका छन् । अन्तिम आठको खेलहरु शुक्रबारबाट सुरु हुनेछ ।
सेमिफाइनल प्रवेशका लागि बेल्जियमले इटली, स्विट्जरल्यान्डले स्पेन, चेक रिपब्लिकले डेनमार्क र इङ्ल्यान्डले युक्रेनसँग प्रतिस्पर्धा गर्नेछ । यसैगरी बेल्जियम र इटलीबीचको विजेता एवं स्पेन र स्विट्जरल्यान्डबीचको विजेताले सेमिफाइनलमा प्रतिस्पर्धा गर्ने छन् । यस्तै इङ्ल्यान्ड र युक्रेन एवं चेक रिपब्लिक र डेनमार्कबीचको विजेताबीच सेमिफाइनलमा भिडन्त हुनेछ ।
जर्मनीलाई हराउँदै इङ्ल्यान्ड अन्तिम आठमा
उपाधि दाबेदार जर्मनीलाई पराजित गर्दै इङ्ल्यान्ड युरोकप फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । मंगलबार राति भएको प्रिक्वार्टरफाइनलमा जर्मनीलाई २–० गोलले पराजित गर्दै इङ्ल्यान्ड अन्तिम आठमा पुगेको हो । लन्डनस्थित वेम्बली स्टेडियममा इङ्ल्यान्डलाई जित दिलाउन रहिम स्ट्रर्लिङ र हेरी केनले एक÷एक गोल गरे ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ७५औं मिनेटमा स्ट्रर्लिङले गोल गर्दै इङ्ल्यान्डलाई सुरुवाती अग्रता दिलाएका थिए । उनले लुक शको पासमा गोल गरेका थिए । जारी युरोकपमा स्ट्रर्लिङको यो चौथो खेलमा तेस्रो गोल हो । समूह चरणमा उनले दुई गोल गरेका थिए । त्यसपछि खेलको ८६ औं मिनेटमा कप्तान केनले गोल गर्दै इङ्ल्यान्डलाई २–० को जित दिलाए । उनले ज्याक ग्रेलिसको पासमा हेड गोल गरेका थिए । जारी युरोमा उनको यो पहिलो गोल हो ।
यस जितसँगै इङ्ल्यान्डले ५५ वर्षपछि जर्मनीलाई नकआउट चरणमा पराजित गर्न सफल भएको छ । यस अघि इङ्ल्यान्डले जर्मनीलाई सन् १९६६ को विश्वकप फाइनलमा पराजित गरेको थियो । जर्मनी भने प्रतियोगिताको अन्तिम १६ बाट बाहिरिएको छ । जर्मनी पहिलो पटक मुख्य प्रतियोगिताको अन्तिम १६ बाट बाहिरिएको हो । इङ्ल्यान्डले क्वार्टरफाइनलमा युक्रेनसँग खेल्नेछ । इङ्ल्यान्ड समूह ‘डी’को विजेता बन्दै अन्तिम १६ मा स्थान बनाएको हो । इङ्ल्यान्डले तीन खेलमा सात अंक जोडेको थियो । जर्मनी समूह ‘एफ’बाट उपविजेता बन्दै नकआउट चरणमा स्थान बनाएको हो । जर्मनीले तीन खेलमा पाँच अंक जोडेको थियो ।
स्विडेन स्तब्ध, युक्रेन क्वार्टरफाइनलमा
स्विडेनलाई पराजित गर्दै युक्रेनले पनि युरोकप फुटबलको क्वार्टरफाइनलमा स्थान बनाएको छ । मंगलबार राति भएको अन्तिम १६ को स्विडेनलाई अतिरिक्त समयमा २–१ गोलले पराजित गर्दै युक्रेनले अन्तिम आठमा स्थान बनाएको हो ।
स्कटल्यान्डको ह्याम्पडेन पार्कमा युक्रेनलाई जित दिलाउन ओलेक्सान्डर जिनचेंको र आर्टिम दोबवीले एक÷एक गोल गरेका थिए । स्विडेनका इमिल फोर्सवर्गले एक गोल फर्काए ।
निकै रोमान्चक खेलको निर्धारित ९० मिनेट १–१ गोलको बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । अतिरिक्त समयको अन्तिम मिनेटमा अर्टिमले गोल गर्दै युक्रेनलाई २–१ को जित दिलाए । उनले ओलेक्सान्डर जिनचेंकोको पासमा गोल गरेका थिए ।
यसअघि खेलको २७औं मिनेटमा ओलेक्सान्डर जिनचेंकोेले गोल गर्दै युक्रेनलाई सुरुवाती अग्रता दिलाएका थिए । उनले एन्डी यार्मोलेन्कोको पासमा गोल गरेका थिए । खेलको ४३ औं मिनेटमा फोर्सवर्गले गोल गर्दै स्विडेनलाई खेलका फर्काएका थिए । उनले अलेक्जेन्डर इसाकको पासमा गोल गरेका थिए । त्यसपछि खेलको ९८औं मिनेटमा स्विडेन १० खेलाडीमा समेटिएको थियो । युक्रेनका अर्टिमलाई खराब ट्याकल गरेपछि मार्कुस ड्यानिलेसनले रातो कार्ड पाएका थिए । जितसँगै युक्रेन क्वार्टरफाइनलमा पुग्ने अन्तिम टोली बन्यो । युक्रेनले अब क्वार्टरफाइनलमा इङ्ल्यान्डको सामना गर्नेछ ।
युक्रेन पहिलो पटक युरोकप फुटबलको क्वार्टरफाइनलमा पुगेको हो । युक्रेन अहिलेसम्म तेस्रो पटक युरोकपमा छनोट भएको हो । सन् २०१२ मा पहिलो पटक युरोकपमा छनोट भएको युक्रेन समूह चरणबाटै बाहिरिएको थियो । युक्रेन आयोजक भएका कारण युरोकपमा छनोट भएको थियो । पहिलो खेलमा स्विडेनलाई २–१ गोलले पराजित गरेको युक्रेन त्यसपछि फ्रान्स र इङ्ल्यान्डसँग पराजित भएपछि समूह चरणबाटै बाहिरिएको थियो । सन् २०१६ को युरोकपमा छनोट भए पनि युक्रेन समूह चरणबाट माथि उक्लिन सकेन । युरोकपमा छनोट हुनुअघि युक्रेन सन् २००६ को विश्वकपमा छनोट भएको थियो ।

नेपालमाला
