लन्डन : उपाधि दाबेदार जर्मनीलाई पराजित गर्दै इङ्ल्यान्ड युरोकप फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।
मंगलबार राति भएको प्रि–क्वाटरफाइनलमा जर्मनीलाई २–० गोलले पराजित गर्दै इङ्ल्यान्ड अन्तिम आठमा पुगेको हो ।
लन्डनस्थित वेम्बली स्टेडियममा इङ्ल्यान्डलाई जित दिलाउन रहिम स्ट्रर्लिङ र हेरी केनले एक÷एक गोल गरे ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ७५ औं मिनेटमा स्ट्रर्लिङले गोल गर्दै इङ्ल्यान्डलाई सुरुवाती अग्रता दिलाए । उनले लुक शको पासमा गोल गरेका थिए । जारी युरोकपमा स्ट्रर्लिङको यो चौथो खेलमा तेस्रो गोल हो । समूह चरणमा उनले दुई गोल गरेका थिए ।
त्यसपछि खेलको ८६ औं मिनेटमा कप्तान केनले गोल गर्दै इङ्ल्यान्डलाई २–० को जित दिलाए । उनले ज्याक ग्रेलिसको पासमा हेड गोल गरेका थिए । जारी युरोमा उनको यो पहिलो गोल हो ।
यससँगै इङ्ल्यान्ड क्वार्टरफाइनलमा पुग्ने सातौं टिम बनेको छ । इङ्ल्यान्ड दोस्रो पटक युरोकपको क्वार्टरफाइनलमा पुगेको हो ।
यस जितसँगै इंग्ल्यान्डले ५५ वर्षपछि जर्मनीलाई नकआउट चरणमा पराजित गर्न सफल भएको छ । यस अघि इङ्ल्यान्डले जर्मनीलाई सन् १९६६ को विश्वकप फाइनलमा पराजित गरेको थियो ।
जर्मनी भने प्रतियोगिताको अन्तिम १६ बाट बाहिरिएको छ । जर्मनी पहिलो पटक मुख्य प्रतियोगिताको अन्तिम १६ बाट बाहिरिएको हो । अब इङ्ल्यान्डले क्वार्टरफाइनलमा स्विडेन र युक्रेनबीचको विजेतासँग खेल्नेछ ।
इङ्ल्यान्ड समूह ‘डी’को विजेता बन्दै अन्तिम १६ मा स्थान बनाएको हो । इङ्ल्यान्डले ३ खेलमा ७ अंक जोडेको थियो । जर्मनीले समूह ‘एफ’बाट उपविजेता बन्दै नकआउट चरणमा स्थान बनाएको हो । जर्मनीले ३ खेलमा ५ अंक जोडेको थियो ।

नेपालमाला
