बुकारेष्ट : विश्व विजेता फ्रान्सलाई हराउँदै स्विट्जरल्यान्ड १६ औं संस्करणको युरोकप फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । रोमानियाको बुकारेष्टमा सोमबार राति भएको प्रिक्वार्टरफाइनलमा फ्रान्सलाई पेनाल्टी सुटआउटमा ५–४ गोलले पराजित गर्दै स्विट्जरल्यान्ड अन्तिम आठमा पुगेको हो ।
निकै रोमाञ्चक खेलको निर्धारित ९० मिनेट र अतिरिक्त समय ३–३ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो । पेनाल्टीमा स्विट्जरल्यान्डले बाजी मा¥यो । पेनाल्टीमा फ्रान्सका पल पोग्बा, ओलिभर जिराउड, मार्कुस थुराम र प्रेसनल किम्पेम्बेले गोल गरे । तर, युवा स्टार केइलिन एमबाप्पे पेनाल्टीमा गोल गर्न चुकेका थिए । एमबाप्पेको प्रहार स्विट्जरल्यान्डका गोलरक्षक यान सोमरले बचाएका थिए ।
स्विट्जरल्यान्डका मारियो गाभ्रानोभिच, फाबियन सयर, म्यानुयल अकान्जी, रुबेन भर्गास र एडमिर मेहमेन्दीले पेनाल्टीमा गोल गरेका थिए ।
खेल पेनाल्टी सुटआउटमा पुग्नु अघि खेलमा सुरुवाती अग्रता स्विट्जरल्यान्डले बनाएको थियो । खेलको १५ औं मिनेटमा हरिस सेफेरोभिचले गोल गर्दै स्विट्जरल्यान्डलाई १–० गोलको अग्रता दिलाएका थिए । उनले स्टेभन जुबरको पासमा हेड गोल गरेका थिए । ५५औं मिनेटमा स्विट्जरल्यान्डले पेनाल्टीमा गोल गर्ने अवसर पाएको थियो । तर, स्विट्जरल्यान्डका रिकार्डो रोड्रिगेजले पेनाल्टीमा गोल गर्न सकेनन् । उनको पेनाल्टी प्रहार फ्रान्सका गोलकिपर ह्युगो लोरिसले बचाएका थिए ।
त्यसलगत्तै ५७ औं मिनेटमा करिम बेन्जमाले गोल गर्दै फ्रान्सलाई १–१ गोलको बराबरीमा ल्याएका थिए । एमबाप्पेको पासमा उनले सहज गोल गरेका थिए । खेलको ५९औं मिनेटमा बेन्जमाले व्यक्तिगत दोस्रो गोल गर्दा फ्रान्सले २–१ को अग्रता बनायो । उनले एन्टोनियो ग्रिजम्यानको पासमा हेड गोल गरेका थिए ।
खेलको ७५औं मिनेटमा पल पोग्बाले गोल गर्दै फ्रान्सलाई ३–१ गोलको अग्रता दिलाए । पोग्बाले बक्स बाहिरबाट उत्कृष्ट गोल गरेका थिए । ८१औं मिनेटमा स्विट्जरल्यान्डका ह्यारिस सेफेरोभिचले व्यक्तिगत दोस्रो गोल गर्दै खेल ३–२ को स्थितिमा ल्याएका थिए । त्यसपछि खेलको ९०औं मिनेटमा स्विट्जरल्यान्डका मारियो गाभ्रानोभिचले गोल गरेपछि खेल ३–३ गोलको बराबरीमा सकिएको थियो । त्यसपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । अतिरिक्त समयमा दुवै टोलीबाट थपगोल हुन नसकेपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट लिइएको थियो ।
स्विट्जरल्यान्ड क्वार्टरफाइनलमा पुग्ने छैटौं टोली बनेको छ । विश्व विजेता साविक उपविजेतासमेत रहेको फ्रान्स भने अन्तिम १६ बाट बाहिरिएको छ । स्विट्जरल्यान्ड ६७ वर्षपछि पहिलो पटक मुख्य प्रतियोगिताको क्वार्टरफाइनलमा पुगेको हो । यसअघि स्विट्जरल्यान्ड सन् १९५४ को विश्वकपमा क्वार्टरफाइनलमा पुगेको थियो । यसअघि फ्रान्स समूह ‘एफ’ को विजेता बन्दै नकआउट चरणमा पुगेको थियो । स्विट्जरल्यान्डले समूह ‘ए’ बाट उत्कृष्ट तेस्रो टोली बन्दै नकआउट चरणमा स्थान बनाएको हो ।

स्विट्जरल्यान्डले क्वार्टरफाइनलमा स्पेनसँग प्रतिस्पर्धा गर्नेछ । क्रोएसियालाई अतिरिक्त समयमा ५–३ गोलले पराजित गर्दै स्पेन अन्तिम आठमा प्रवेश गरिसकेको छ । सोमबार राति कोपनहेगनमा भएको रोमान्चक खेलमा स्पेनलाई जित दिलाउन पाब्लो सराबिया, सिजर अजपिलिकुएटा, फरान टोरेस, अल्भारो मोराटा र मिकेल ओयरलाबालीले एक÷एक गोल गरेका थिए । क्रोएसियाका मिस्लाभ ओर्सिक र मारियो पासालिचले एक÷एक गोल गरेका थिए । अर्को एक गोल क्रमेएसियाले आत्मघाती उपहार पाएको थियो ।
पार्केन एरिनामा सुरुवाती अग्रता क्रोएसियाले अग्रता बनाएको थियो । क्रोएसियाले २०औं मिनेटमा आत्मघाती गोलबाट सुरुवाती अग्रता बनाएको थियो । पेड्रीको ब्याक पासमा स्पेनका गोलरक्षक उनाई सिमोनबाट आत्मघाती गोल भएको थियो ।
खेलको ३८औं मिनेटमा सराबियाले गोल गर्दै स्पेनलाई १–१ गोलको बराबरीमा ल्याएका थिए । अल्भारो मोराटाको प्रहार क्रोएसियाका गोलरक्षक डोमिनिक लिवाकोलिभले रोकेपछि प्राप्त रिबाउन्डमा सराबियाले गोल गरेका थिए । खेलको ५७ औं सिजर अजपिलिकुएटाले गोल गर्दै स्पेनलाई २–१ गोलको अग्रता दिलाएका थिए । उनले फरान टोरेसले उपलब्ध गराएको पासमा गोल गरेका थिए ।
७७ औं मिनेटमा टोरेसले गोल गर्दै स्पेनलाई ३–१ को अग्रता दिलाए । उनले पाउ टोरेसको पासमा सहजै गोल गरेका थिए । ८५औं मिनेटमा क्रोएसियाका परिवर्तित खेलाडी मिस्लाभ ओर्सिकले गोल गर्दै खेल ३–२ को स्थितिमा ल्याए । खेलको इन्जुरी समयको दोस्रो मिनेटमा क्रोएसियाका परिवर्तित खेलाडी मारियो पासालिचले गोल गर्दै खेल ३–३ को बराबरीमा ल्याएका थिए । निर्धारित समय ३–३ गोलको बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । ३० मिनेटको अतिरिक्त समयमा स्पेनले दुई गोल ग¥यो । खेलको सयौंैं मिनेटमा मोराटाले गोल गर्दै स्पेनलाई ४–३ को अग्रता दिलाए । डानिल ओल्मोको पासमा उनले गोल गरेका थिए । त्यसपछि खेलको १०३ औं मिनेटमा मिकेलले ओल्मोकै पासमा गोल गर्दै स्पेनलाई ५–३ गोलको रोमान्चक जित दिलाए ।
स्पेनले समूह ‘ई’ बाट उपविजेता बन्दै नकआउट चरणमा स्थान बनाएको थियो । समूह चरणमा स्पेनले तीन खेलमा पाँच अंक जोडेको थियो । क्रोएसियाले समूह ‘डी’बाट उपविजेता बन्दै अन्तिम १६ मा स्थान पक्का गरेको थियो । क्रोएसियाले तीन खेलमा चार अंक जोडेको थियो ।

नेपालमाला
