बुडापेष्ट : विश्व विजेता फ्रान्सले युरोकप फुटबलमा हंगेरीसँग बराबरी खेल्दै अंक बाँड्न बाध्य भएको छ । हंगेरीको पुस्कास एरिनामा शनिबार भएको खेलमा फ्रान्सले घरेलु टोली हंगेरीसँग १–१ गोलको बराबरी खेल्दै अंक बाँडेको हो ।
खेलको सुरुवातदेखि नै आक्रामक खेल खेलेको फ्रान्सले हंगेरीको रक्षापंक्ति तोड्न निकै संघर्ष गर्नु परेको थियो । खेलमा अग्रता भने हंगेरीले बनाएको थियो । पहिलो हाफको इन्जुरी समयमा एटिला फिओलाले गोल गर्दै हंगेरीलाई अग्रता दिलाएका थिए । काउन्टर एट्याकमा रोलान्ड साल्लाईले उपलब्ध गराएको पासमा फिओलाले उत्कृष्ट गोल गरेका थिए ।
खेल अवधिभर बल पोसेसनमा पक्कड जमाएको फ्रान्सले ६६औं मिनेटमा बराबरी गोल फर्काएको थियो । काइलिन एमबाप्पेले उपलब्ध गराएको पासमा एन्टोइन ग्रिजम्यानले गोल गर्दै फ्रान्सलाई खेलमा फर्काएका थिए ।
बराबरी गोल गरेपछि पनि फ्रान्सले लगातार आक्रमण बुने पनि थप गोल गर्न सकेन । फ्रान्सका करिम बेन्जमा, एमबाप्पे, पल पोग्वा, उस्मान डेम्बेलेलगायतले पाएका अवसरलाई गोलमा परिणत गर्न सकेनन् ।
यस बराबरीसँगै समूह ‘एफ’ मा रहेको फ्रान्सले दुई खेलबाट चार अंक जोडेको छ । फ्रान्स समूहको शीर्ष स्थानमा उक्लिएको छ । समूह चरणको पहिलो खेलमा फ्रान्सले जर्मनीलाई १–० गोलले पराजित गरेको थियो । हंगेरीले भने युरोकपमा पहिलो एक अंक जोडेको छ । हंगेरी एक अंक जोड्दै समूहको तेस्रो स्थानमा छ । पहिलो खेलमा हंगेरी साविक विजेता पोर्चुगलसँग ३–० गोलले पराजित भएको थियो ।
Previous Article

नेपालमाला
