रोम : इटाली १६ औं संस्करणको युरोकप फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ । रोममा बुधबार राति भएको समूह चरणको दोस्रो खेलमा स्विजरल्यान्डलाई ३–० गोलले पराजित गर्दै इटाली नकआउट चरणमा प्रवेश गरेको हो ।
ओलम्पिक स्टेडियममा इटालीलाई जित दिलाउन म्यानुएल लोकाटेलीले दुई गोल गरे । सिरो इमोबाइलको नाममा एक गोल रह्यो ।
खेलको १९औं मिनेटमा जर्जियो चेलीनीले गोल गरेका थिए । तर, गोल गर्नु अघि ह्यान्डबल गरेको कारण उनको गोलले मान्यता पाएन । खेलको २६ औं मिनेटमा लोकाटेलीले गोल गर्दै इटालीलाई सुरुवाती अग्रता दिलाए । डोमिनिको बेरार्डीको पासमा उनले गोल गरेका हुन् ।
त्यसपछि खेलको ५२ औं मिनेटमा लोकाटेलीले व्यक्तिगत दोस्रो गोल गर्दै इटालीलाई २–० को अग्रता दिलाए । उनले निकोलो बरेलाको पासमा डिबक्स बाहिरबाट उत्कृष्ट गोल गरेका थिए ।
त्यसपछि खेलको ८९ औं मिनेटमा इमोबाइलले गोल गर्दै इटालीलाई ३–० को जित दिलाए । उनले राफेलको पासलाई सदुपयोग गरे ।
यस जितसँगै इटालीले लगातार १० खेलमा जित निकाल्न सफल भएको छ । समूह ‘ए’को इटाली अन्तिम १६ मा प्रवेश गर्ने पहिलो टिम बनेको छ । लगातार दोस्रो जित निकालेको इटालीले दुई खेलमा ६ अंक जोडेको छ । इटाली समूहको शीर्ष स्थानमा रहेको छ । पहिलो खेलमा इटालीले टर्कीलाई ३–० ले हराएको थियो ।
समूहको तेस्रो स्थानमा रहेको स्विजरल्यान्डको यो पहिलो हार हो । स्विजरल्यान्डले दुई खेलमा एक अंक जोडेको छ । स्विजरल्यान्डले पहिलो खेलमा वेल्ससँग १–१ गोलको बराबरी खेलेको थियो ।

बुधबार भएको खेलमा वेल्सले पनि पहिलो जित निकालेको छ । बुधबार राति भएको खेलमा टर्कीलाई २–० गोलले पराजित गर्दै वेल्सले पहिलो जित निकालेको हो ।
बाकु ओलम्पिक स्टेडियम वेल्सलाई जित दिलाउन आरोन राम्से र कोनर रोबर्ट्सले एक÷एक गोल गरे । खेलको ४३ औं मिनेटमा राम्सेले गोल गर्दै वेल्सलाई अग्रता दिलाएका थिए । कप्तान गारथ बेलको पासमा उनले गोल गरेका थिए ।
त्यसपछि खेलको इन्जुरी समयको पाँचौ मिनेटमा रोबर्ट्सले गोल गर्दै वेल्सलाई २–० को जित दिलाए । उनले पनि बेलको पासमा गोल गरेका हुन् । तर, ६१ औं मिनेटमा कप्तान बेलले पेनाल्टीमा गोल गर्न सकेनन् । जेकी सिलिकले पेनाल्टी क्षेत्रमा बेललाई लडाएपछि वेल्सले पेनाल्टीको मौका पाएको थियो ।
बेलको पेनाल्टी पोस्टभन्दा माथिबाट बाहिरिएको थियो ।
यस जितसँगै समूह वेल्सले दुई खेलमा चार अंक जोडेको छ । वेल्सले नकआउट चरणमा पुग्ने सम्भावना बलियो बनाएको छ ।
वेल्स दोस्रो स्थानमा रहेको छ । पहिलो खेलमा वेल्सले स्विजरल्यान्डसँग १–१ गोलको बराबरी खेलेको थियो । टर्कीको यो लगातार दोस्रो हार हो । टर्कीलाई पहिलो खेलमा इटालीले ३–० ले हराएको थियो । दुई हार व्यहोरेपछि पुछारमा रहेको टर्कीको नकआउट चरण पुग्ने सम्भावना कमजोर बनेको छ ।

नेपालमाला
