म्युनिख : साविक उपविजेता फ्रान्सले १६ औं संस्करणको युरोकप फुटबलमा विजयी सुरुवात गरेको छ । मंगलबार राति भएको खेलमा जर्मनीलाई १–० गोलले पराजित गर्दै फ्रान्सले सुखद सुरुवात गरेको हो ।
जर्मनीको म्युनिखस्थित एलिनाज स्टेडियममा विश्व विजेता फ्रान्सले आत्मघाती गोलको मद्दतमा जित निकालेको हो । जर्मनीका माट हुमेल्सको आत्मघाती गोलबाट फ्रान्सले महत्वपूर्ण जित निकालेको हो ।
डिफेन्डर हुमेल्सले २० औं मिनेटमा आत्मघाती गोल गरेका थिए । फ्रान्सका लुकास हर्नान्डेजको क्रस क्लियर गर्ने क्रममा उनले आफ्नै पोस्टमा गोल गरेका थिए । जुन गोल खेलको निर्णायक गोल बन्यो । त्यसबाहेक फ्रान्सले गरेको दुई गोलले मान्यता पाएन । खेलको ६६ औं मिनेटमा केइलिन एमबाप्पेले गोल गरेका थिए । तर, अफसाइड भएपछि उनको गोलले मान्यता पाएन ।
खेलको ८५ औं मिनेटमा एमबाप्पेको पासमा करिम बेन्जमाले गोल गरेका थिए । तर, भीएआरको सहायतामा एमबाप्पे अफसाइड रहँदा उनको गोलले पनि मान्यता पाएन।
जर्मनीले भने पाएको अवसरलाई सदुपयोग गर्न सकेन । खेल अवधिभर बल पोसेसनमा पकड जमाएको जर्मनी फिनिसिङमा चुकेको थियो ।
यस हारसँगै तीन पटकको च्याम्पियन जर्मनी युरोकपको इतिहासमा पहिलो पटक आफ्नो पहिलो खेलमा पराजित भएको छ ।
जितसँगै ग्रुप अफ डेथ मानिएको समूह ‘एफ’मा रहेका फ्रान्सले महत्वपूर्ण ३ अंक जोडेको छ । फ्रान्स समूहको दोस्रो स्थानमा रहेको छ ।
यस समूहमा पोर्चुगल शीर्ष स्थानमा रहेको छ । जर्मनी तेस्रो र हंगेरी चौंथो स्थानमा रहेको छ ।

नेपालमाला
