काठमाडौं : काठमाडौं जिल्लामा ६० देखि ६४ वर्षका नागरिकलाई जेठ २५ गतेदेखि दिन सुरु गरिएको खोप अभियान लक्षित संख्याले नपाउँदै स्थगित गरिएको छ। काठमाडौं महानगरपालिकाले बिहीबार साँझ एक सूचना जारी गर्दै सरकारले खोप उपलब्ध गराउन नसकेपछि अभियान अर्को सूचना जारी नहुन्जेलसम्मका लागि स्थगित गरेको जानकारी दिएको छ ।
थप खोप उपलब्ध गराउन नसकिने जानकारी आएपछि महानगरको कार्यतालिकाभन्दा दुई दिनअघि नै अभियान स्थगित गर्नुपरेको महानगरका स्वास्थ्य विभाग प्रमुख हरि कुँवरले जानकारी दिए । महानगरको यही भनाइलाई काठमाडौं जिल्ला स्वास्थ्य कार्यालय प्रमुख बद्रीबहादुर खड्काले खोपको दुरुपयोग भएपछि लक्षित वर्गलाई दिन नपाउँदै सकिएको दाबी गरेका छन् ।
१४ हजार डोज खोप खोइ ?
चीनले अनुदानमा दिएको भेरोसेल खोप सरकारले जेठ २५ गतेदेखि ६० देखि ६४ वर्ष उमेर समूहका नागरिकलाई दिने निर्णय गरेको थियो । सोही निर्णयअनुसार सबै प्रदेश र जिल्लामा खोप पठाइएको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकमा यो उमेर समूहका नागरिक ६ लाख ६२ हजार ३६७ जना खोप पाउने सूचीमा छन् । काठमाडौं जिल्लाका लागि मात्रै ६४ हजार डोज खोप छुट्याइएको थियो । जुन देशभरकै सबैभन्दा बढी मात्रामा छुट्याइएको खोप भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेल बताउँछन् ।
स्वास्थ्य कार्यालय काठमाडौंको तथ्यांकमा बुधबारसम्म काठमाडौंमा ३३ हजार जनाले खोप लगाएका छन् । बिहीबार झन्डै १७ हजारले खोप लिएको कार्यालय प्रमुख बद्रीबहादुर खड्का बताउँछन् । यस हिसाबले बिहीबारसम्म ५० हजारभन्दा बढी संख्याले खोप लिएको देखिँदैन तर बाँकी १४ हजार डोज खोप कहाँ गयो अहिले मन्त्रालयका लागिसमेत खोजीको विषय बनेको छ । खोप केन्द्रहरूबाट लक्षित उमेर समूहभन्दा अन्य व्यक्तिलाई समेत खोप वितरण गरिएको हुनसक्ने मन्त्रालयका प्रवक्ता पौडेल बताउँछन् ।

नेपालमाला
