काठमाडौं : अर्को वर्ष कतारमा आयोजना हुने फिफा विश्वकप छनोट र सन् २०२३ को एसिया कपअन्तर्गत दोस्रो चरणको छनोटमा नेपालले सोमबार बलियो प्रतिद्वन्द्वी जोर्डनसँग प्रतिस्पर्धा गर्दै छ । कुवेतको राजधानी कुवेत सिटीमा नेपाल र जोर्डनबीचको खेल राति ९ः४५ बजे सुरु हुनेछ । कोरोना महामारीका कारण यसअघि पटक पटक स्थगित हुँदै आएको खेल न्युट्रल भेन्यु कुवेतमा हुन लागेको हो । नेपालले घरेलु मैदानमा खेल्नुपर्ने विश्वकप छनोटका खेलहरू कोरोना महामारीका कारण कुवेतमा सञ्चालन गरिएको हो । नेपालमा कोरोना महामारी बढेपछि एसियाली फुटबल महासंघ (एएफसी) ले सेन्ट्रल भेन्युका रूपमा कुवेतलाई रोजेको हो । फिफा विश्वकपअन्तर्गत एसियाली छनोटमा नेपाल समूह ‘बी’मा छ ।
सोमबार बलियो प्रतिद्वन्द्वीविरुद्ध मैदानमा उत्रिँदा नेपालको लक्ष्य जोर्डनसँग अंक खोस्नु हुनेछ । नेपाल र जोर्डन अहिलेसम्म तीन पटक आमनेसामने भएका छन् । नेपालले घरेलु मैदानमा भएको खेल बराबरी गर्न सकेको छ भने अरु दुई खेलमा पराजय बेहोरेको छ । सन् २०११ जुलाई २८ मा दशरथ रंगशालामा फिफा विश्वकप छनोटको दोस्रो लेगको खेलमा नेपालले जोर्डनसँग १–१ गोलको बराबरी खेलेको थियो । सागर थापाको कप्तानीमा रहेको नेपाली टोलीले पहिले गोल खाएर पनि बराबरी गर्न सफल भएको थियो । खेलको ८०औं मिनेटमा भरत खवासले गोल गर्दै नेपालको हार टारेका थिए । त्यसअघि फिफा विश्वकप छनोटकै पहिलो लेगको खेलमा भने नेपाल ९–० गोलले पराजित भएको थियो । जोर्डनको घरेलु मैदानमा सन् २०११ जुलाई २३ मा भएको खेलमा नेपालले निकै कमजोर प्रदर्शन गरेको थियो । उक्त खेलमा जोर्डनका हसन फताह एक्लैले चार गोल गरेका थिए ।

यसैगरी सन् २०१९ अक्टोबर १५ मा कतार विश्वकप छनोटअन्तर्गत जोर्डनको घरेलु मैदानमा भएको पहिलो लेगको खेलमा नेपाल ३–० गोलले पराजित भएको थियो । फिफाको पछिल्लो वरीयतामा नेपाल एक सय ७१औं स्थानमा छ । जोर्डन भने ९५औं स्थानमा छ । नेपाल वरीयतामा भन्दा पनि यसअघिको लयलाई पछ्याउने अभियानमा छ । नेपाली टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरी पनि विगतको लयालाई नेपाली टोलीले निरन्तरता विश्वास व्यक्त गरेका छन् । उनले इराकसँगको मैत्रीपूर्ण खेल र चाइनिज ताइपेईविरुद्धको प्रभावशाली जितले नेपाली खेलाडी उत्साहित रहेको बताएका छन् ।
मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले टोलीमा व्यापक परिवर्तन गर्दै युवा खेलाडीलाई मौका दिएका छन् । उनले गत चैतमा थ्री नेसन्स कप जित्दाको टोलीका १३ खेलाडी परिवर्तन गरेका थिए । नेपाली टोलीको गोलरक्षकमा किरण चेम्जोङ, विशाल सुनार र दीप कार्की छन् । यस्तै रक्षकमा रोहित चन्द, अनन्त तामाङ, दिनेश राजवंशी, गौतम श्रेष्ठ, सुमन अर्याल र विकास खवास छन् । यसैगरी मिडफिल्डरमा विशाल राई, मनीष डाँगी, एरिक विष्ट, कमल थापा, सन्तोष तामाङ, सुमन लामा, सुनील बल, सुरज ठकुरी, पूजन उपरकोटी र आयुष घलानलाई छन् । स्ट्राइकरमा अभिषेक रिजाल, अञ्जन विष्ट, नवयुग श्रेष्ठ र आशिष लामा छन् । गोलरक्षक विशाल सुनार, दीप कार्की, मिडफिल्डर कमल थापा, सुरज ठकुरी र आयुष घलानले राष्ट्रिय टोलीबाट डेब्यु गर्न बाँकी छ ।

विश्वकप छनोटका खेलको तयारीका लागि नेपालले फिफा वरीयतामा निकै माथि रहेको इराकसँग गत जेठ १५ गते मैत्रीपूर्ण खेल खेलेको थियो । दुई दशकपछि इराकविरुद्ध मैदान उत्रिएको नेपाल ६–२ गोलले पराजित भएको थियो । उक्त खेलमा नेपालका मनीष डाँगीले एक गोल गरेका थिए भने अर्को गोल आतमघाती रूपमा इराकबाट उपहार पाएको थियो । इराकसँगको मैत्रीपूर्ण खेलपछि नेपाली टोली स्थलमार्ग हुँदै कुवेत पुगेको थियो । विश्वकप छनोटअन्तर्गत नेपालले जेठ २० मा चाइनिज ताइपेईसँग प्रतिस्पर्धा गरेको थियो । आक्रामक खेल खेलेको नेपालले २–० को प्रभावशाली जित निकालेको थियो । नेपालको जितमा अञ्जन विष्ट र नवयुग श्रेष्ठले गोल गरेका थिए ।
विश्वकप छनोटअन्तर्गत नेपालले आठ खेलमध्ये ६ खेल खेलिसकेको छ । नेपालले कुवेतसँगको पहिलो खेलमा ७–० र दोस्रो खेलमा १–० गोलले हार बेहोरेको थियो । नेपाल अस्ट्रेलियासँगको पहिलो खेलमा ५–० गोलले पराजित भएको थियो । नेपालले चाइनिज ताइपेईलाई मात्र दुवै लेगको खेलमा पराजित गर्न सकेको छ । नेपालले दुवै लेगको खेलमा चाइनिज ताइपेईलाई २–० गोलले पराजित गरेको छ । नेपालले शुक्रबार अर्को बलियो प्रतिद्वन्द्वी अस्ट्रेलियाको सामना गर्नेछ ।
अहिले समूह ‘बी’मा १५ अंकसहित अस्ट्रेलिया शीर्ष स्थानमा छ । कुवेत १० अंकसहित दोस्रो, १० नै अंक बनाएको जोर्डन तेस्रो स्थानमा छ । नेपाल ६ अंकसहित चौथो र अंक जोड्न नसकेको चाइनिज ताइपेई पुछारमा छ । विश्वकप छनोटको अघिल्लो चरणमा पुग्ने नेपालको सम्भावना गणितीय हिसावमा बाँकी छ । तर, सन् २०२३ मा हुने एसियन कपमा सिधै छनोट हुने सम्भावना भने बलियो बनाएको छ । नेपाल समूहमा चौथो स्थानमै रहन सकेमा एसिया कपका लागि सीधै छनोट हुनेछ ।

नेपालमाला
