काठमाडौं : काठमाडौं उपत्यकामा शुक्रबारदेखि थप गरिएको निषेधाज्ञामा पहिलेभन्दा निकै नै कडाइ गरिने भएको छ। शुक्रबारदेखि लागु हुने गरी थप एक साताको लागि तोकिएको निषेधाज्ञामा यसअघि भन्दा कडाइ गरिने जिल्ला प्रशासन कार्यालयले जनाएको छ । शुक्रबारबाट लागू भएको निषेधाज्ञामा किराना पसल खोल्न नपाउने, अत्यावश्यक बाहेक हिँडडुल गर्न नपाउने, मर्निङ वाक र इभिनिङ वाकमा हिँड्न नपाइँने जस्ता प्रतिबन्धात्मक व्यवस्थाहरू गरिएका छन् । निषेधाज्ञा सम्बन्धी नियम उल्लंघन गरेमा पैदल यात्रीदेखि व्यापारीसम्मलाई आर्थिक जरिवाना गराउने नीति लिइएको छ ।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीका अनुसार सूचनाको अभावका कारण कसैले पसल खोलेमा एक पटकका लागि चेतावनी दिने र फेरि अटेरी गरी पसल खोलेमा कानुन अनुसार कारबाही गरिने छ ।
पराजुलीका अनुसार यसको अनुगमन गर्ने जिम्मा प्रहरीलाई दिइएको छ । महानगरीय प्रहरी परिसर टेकुका अनुसार कडाइ गरिएको निषेधाज्ञामा पसल खोल्नेहरुलाई पहिलो पटक चेतावनी दिएर बन्द गराउने र दोस्रो पटक पसल खोलेमा प्रहरी कार्यालयमा नै ल्याएर कारबाही गर्ने तयारी छ ।
किराना पसल र डिपार्टमेन्टल स्टोर बन्द गर्ने निर्णय गरेसँगै तीब्र आलोचना सुरु भएपछि बिहीबार काठमाडौं उपत्यकाका स्थानीय प्रशासनले खाद्य सामग्री खरिदका लागि वैकल्पिक व्यवस्था गरेको थियो । उपत्यका प्रशासनले नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडबाट अत्यावश्यक सामग्री मगाउन सक्ने गरी व्यवस्था गरेको हो ।
नागरिकले खाद्य सामग्री मगाए मोबाइल गाडीबाट घरमै लैजाने व्यवस्था मिलाइएको भनिएको छ । जसमा दुई कम्पनीले बिक्री गर्ने चामल, दाल, तेल, नुनलगायत सामग्री घरघरमै पुर्याउने व्यवस्था गरिएको छ । काठमाडौंका प्रजिअ पराजुलीका अनुसार पानी, दूधलगायतको ढुवानी भने पूर्व रुपमा गर्न दिइने छ ।

नेपालमाला
