काठमाडौं : पहिलो संस्करणको खुकुरी नेपाल सुपर लिग (एनएसएल) को उपाधिका लागि शनिबार काठमाडौं रेजर्स र धनगढी एफसीबीच प्रतिस्पर्धा हुँदैछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दुवै टोली पहिलो च्याम्पियन बन्ने लक्ष्यमा हुनेछन् ।
प्रतियोगिताको फाइनल अघि दुवै टोलीका कप्तान र प्रशिक्षकले उपाधि जित्ने दाबी गरेका छन् । काठमाडौं रेजर्सका प्रशिक्षक बालगोपाल महर्जनले धनगढीलाई पराजित गर्दै घरेलु मैदानमा उपाधि जित्ने दाबी गरे । ‘लिग चरण र प्लेअफमा हार बेहोरेका थियौं । ती दुवै खेलमा भएको कमीकमजोरीलाई सुधार गर्दै उपाधि जित्ने अभियानमा छौं’, प्रशिक्षक महर्जनले भने । उनले अघिल्ला दुई खेलमा धनगढीसँग पराजित भए पनि तेस्रो भेटमा भने बदला लिने बताए । ‘तेस्रो खेलमा हामीले आफूलाई प्रमणित गर्ने सुनौलो अवसर मिलेको छ । पहिले भोगेका पराजयलाई बिर्सिएर उपाधि जित्न भरपुर मेहनत गर्नेछौं’ उनले भने ।

काठमाडौंका मार्की खेलाडी तथा कप्तान विकेश कुथुले दुई खेलको हारबाट पाठ सिक्दै फाइनल जित्ने लक्ष्य लिएर शनिबार मैदानमा उत्रिने बताए । ‘लिगमा हामीले केही उतारचढाब भोग्नु प¥यो । त्यही उतारचढावबाट पाठ सिकेर नै हामी उपाधि नजिक पुगेका हौं’, विकेशले भने, ‘अब कुनै पनि गल्ती हाम्रा लागि क्षम्य हुँदैन ।’
धनगढीका प्रशिक्षक तोपे फुजाले काठमाडौंलाई लिग चरण र प्लेअफमा गरी दुई पटक पराजित गरिसकेकाले त्यही उत्साह र मनोबलका साथ उपाधि जित्ने दाबी गरे । ‘हामीले यसअघिका दुई भेटमा काठमाडौंलाई पराजित गरिसकेका छौं । त्यसैले काठमाडौंविरुद्ध खेल्दा हाम्रो सबैभन्दा ठूलो हतियार भनेको उच्च मनोबल हुनेछ’, उनले भने, ‘प्रतिद्वन्द्वीको पनि सम्मान गर्दै पहिलेकै लय र उत्साह बोकेर फाइनल खेल्छौं ।’ नाइजेरियन प्रशिक्षक फुजाले प्लेअफपछि रिकभरीको समय पाएकाले सबै खेलाडी फिट रहेको बताए । ‘प्लेअफपछि हामीले केही रिकभरी गर्ने समय पायौं । त्यो समयले गर्दा सबै खेलाडी फिट छन्’, उनले भने, ‘टोलीमा इन्जुरीको समस्या छैन ।
यस्तै धनगढीका कप्तान किरण चेम्जोङले फाइनल खेल निकै प्रतिस्पर्धात्मक हुने बताए । ‘सुरुवाती खेल गुमाए पनि त्यसपछि लगातार जित निकाल्दै आइरहेका छौं । फाइनल काठमाडौंसँग हाम्रो तेस्रो भेट हुनेछ । सबै खेलहरु उत्कृष्ट थिए’, उनले भने, ‘लिग चरण र प्लेअप भन्दा फाइनल खेल निकै नै प्रतिस्पर्धात्मक हुनेछ ।’ उनले काठमाडौं रेजर्स राम्रो टोली भएकाले खेल रोमाञ्चक र प्रतिस्पर्धात्मक दाबी गरे ।
प्लेअफको पहिलो खेलमा काठमाडौं रेजर्सलाई २–१ गोलले पराजित गर्दै धनगढीले फाइनलमा स्थान बनाएको थियो । लिग चरणको खेलमा पनि काठमाडौं धनगढीसँग ३–० गोलले पराजित भएको थियो । हिलो खेलमा काठमाडौं रेजर्सलाई २–१ गोलले पराजित गर्दै धनगढीले फाइनलमा स्थान बनाएको थियो । लिग चरणको खेलमा पनि काठमाडौं धनगढीसँग ३–० गोलले पराजित भएको थियो । यद्यपि, काठमाडौं लिगमा चार खेल जित्ने एक मात्र टोली बनेको थियो । ६ खेलमध्ये काठमाडौंले चार खेलमा जित, एक बराबरी र एक हार गरी १३ अंक जोडेको थियो । लिगको दोस्रो स्थानमा रहँदै प्लेअफमा स्थान बनाएको धनगढीले ६ मध्ये तीन खेलमा जित निकालेको थियो । यस्तै दुई खेलमा हार बेर्होदा एक खेल बराबरी खेलेको थियो ।
धनगढीसँगको दुवै भेटमा पराजय बेहोरेको काठमाडौंलाई दुई हारको बदला लिने अवसर पनि मिलेको छ । बिहीबार भएको दोस्रो क्वालिफायर खेलमा ललितपुर सिटीलाई ३–० को फराकिलो अन्तरले पराजित गर्दै काठमाडौंले फाइलनमा स्थान बनाएको हो । त्यसअघि पहिलो क्वालिफायरमा धनगढीले काठमाडौंलाई अतिरिक्त समयमा २–१ गोलले पराजित गरेको थियो । त्यसैले अघिल्ला दुई खेलमा जित निकालेको धनगढीको मनोबल उच्च छ । धनगढी तेस्रो भेटमासमेत काठमाडौंलाई हराउँदै उपाधि जित्ने अभियनामा हुनेछ । त्यही कारण धनगढीका प्रशिक्षक तोपे फुजाले पनि काठमाडौंलाई दुई पटक पराजित गरिसकेकाले त्यही उत्साह र मनोबलका साथ उपाधि जित्ने दाबी गरेका छन् ।
फाइनलमा दुवै टोलीले आक्रामक खेल खेल्ने देखिएको छ । दुवै टोलीको मुख्य हतियार विदेशी खेलाडी नै हुन् । धनगढीका प्रमुख स्ट्राइकर ओलावाले आफिज हुन् । उले जारी लिगमा चार गोल गरिसकेका छन् । यस्तै विशाल राई, दर्शन गुरुङ, दिनेश राजवंशी, निशान खड्का, सौजन राई र बुद्धबल तामाङले पनि उत्कृष्ट प्रदर्शन गरिरहेका छन् ।

काठमाडौंको उपाधि अभियान मेसौके ओलोमेउकोको प्रदर्शनमा निर्भर रहनेछ । लिगमा सात गोल गरिसकेका मेसौके लिगमा ह्याट्रिक गर्ने एक्ला खेलाडी समेत हुन् । उनी सर्वाधिक गोल गर्ने खेलाडीको सूचीमा शीर्ष स्थानमा पनि छन् । यस्तै कप्तान विकेश कुथु, तेज तामाङ, सञ्जोग राई, विश्वास श्रेष्ठ, स्टेफेन विनोङ र फ्लोरेन्ट कोयराले उत्कृष्ट खेल खेलै मात्रै काठमाडौंले धनगढीसँग बदला लिन सक्नेछ ।
नेपाल स्पोर्ट्स एन्ड इभेन्ट म्यानेजमेन्टको आयोजनामा सञ्चालन भएको लिगमा सात टोलीले सिंगल राउन्ड रोबिनका आधारमा प्रतिस्पर्धा गरेका थिए । लिगको विजेताले ३५ लाख रुपैयाँ पुरस्कार पाउनेछ । यस्तै उपविजेताले १५ लाख रुपैयाँ प्राप्त गर्नेछ । प्रतियोगिताको विधागततर्फका उत्कृष्टले जनही एक लाख रुपैयाँ पाउनेछन् ।

नेपालमाला
