पोखरा : गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले राजीनामा दिएका छन् । प्रदेशसभामा दर्ता भएको अविश्वासको प्रस्तावमा मतदान हुनु अघिल्लो दिन मुख्यमन्त्री गुरुङले राजीनामा दिएका हुन् ।
उनले राजीनामा पत्रमा प्रदेशको विकास नचाहने विकास विरोधी तत्वहरुको अराजनीतिक चलखेलका कारण एउटै घोषणापत्रमा चुनावमा सहभागी भएका दलहरुबाट असहयोग र अस्थिरताको वातावरण सिर्जना भएका कारण मुख्यमन्त्रीको हैसियतमा काम गर्ने वातावरण नभएकाले राजीनामा दिन बाध्य भएको उल्लेख गरेका छन् ।
उनको राजीनामा प्रदेश प्रमुखले स्वीकृत समेत गरेको एमाले प्रमुख सचेतक मायानाथ अधिकारीले जानकारी दिए ।
मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले राजीनामा दिएपछि गण्डकी प्रदेश प्रमुख सीता पौडेलले नयाँ सरकार गठनका लागि आह्वान गरेकी छन् ।
आइतबार मुख्यमन्त्री गुरुङले पदबाट राजीनामा दिएपछि प्रदेश प्रमुख पौडेलले नेपालको संविधानको धारा १६८ को २ अनुसार नयाँ सरकार गठनका लागि प्रदेशसभाका दलहरुलाई आह्वान गरेकी हुन् ।
गण्डकी प्रदेशमा कुनै दलको एकल बहुमत नभएकाले प्रदेश प्रमुखले दुई वा दुई भन्दा बढी दलको सहभागितामा बहुमतको सरकार बनाउन आह्वान गरेकी हुन् ।


नेपालमाला
