काठमाडौं : चितवन एफसी पहिलो संस्करणको फ्रेन्चाइज फुटबल प्रतियोगिता खुकुरी नेपाल सुपर लिग (एनएसएल) बाट बाहिरिएको छ । शुक्रबार भएको खेलमा पोखरा थन्डर्ससँग २–१ गोलले पराजित भएपछि चितवनको प्लेअफमा पुग्ने सम्भावना सकिएको हो । चितवन लिग चरणको एक खेल खेल्न बाँकी छँदै प्रतियोगिताबाट बाहिरिएको हो । पोखराले भने अन्तिम चारमा पुग्ने सम्भावना जीवितै राखेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सुरुआती एक गोलको अग्रता जोगाउन नसक्दा चितवन पराजित भएको हो । पोखरालाई जित दिलाउन नवयुग श्रेष्ठ र रफायल रिमगागोले एक÷एक गोल गरे । अन्तिम समयतिर १० खेलाडीमा समेटिएको चितवनका लागि शिशिर लेखीले सुरुआती गोल गरेका थिए ।
खेलको ७३औं मिनेटमा शिशिरले गोल गर्दै चितवनलाई सुरुआती अग्रता दिलाएका थिए । उनले दायाँ भागबाट प्रहार गरेको सशक्त प्रहारलाई पोखराका गोलरक्षक दीप कार्कीले नियाल्नसमेत सकेनन् । खेलको ८२औं मिनेटमा चितवन १० खेलाडीमा समेटिएको थियो । गोलरक्षक विशाल सुनार रातो कार्ड प्राप्त गर्दै मैदानबाट बाहिरिएका थिए । डीबक्स बाहिर निस्केर हातले बल क्लियर गरेपछि उनलाई रेफ्री प्रज्ज्वल क्षत्रीले रातो कार्ड दिएका थिए । गोलरक्षक सुनारको त्यही गल्तीको फाइदा उठाउँदै पोखराले ८६औं मिनेटमा बराबरी गरेको थियो । नवयुगले फ्रिकिकबाट गोल गर्दै पोखरालाई १–१ बराबरीमा ल्याएका थिए । त्यसपछि खेलको इन्जुरी समयमा रफायलले गोल गर्दै पोखरालाई २–१ को जित दिलाए ।
खेलको प्लेयर अफ दी म्याच पोखराका रवि पासवान चुनिए । उनले २५ हजार नगद पुरस्कार प्राप्त गरे । यसैगरी इमर्जिङ प्लेयर चितवनका शिशिर लेखी घोषित भए । उनले १० हजार नगद पुरस्कार प्राप्त गरे ।
जितसँगै पोखरा ६ खेलबाट ८ अंक जोड्दै लिगको तेस्रो स्थानमा उक्लिएको छ । चितवनले भने पाँच खेलबाट दुई अंक मात्र जोड्न सकेको छ । चितवनले लिगको अन्तिम खेलमा काठमाडौं रेजर्सको सामना गर्ने । लिगमा १० अंकका साथ धनगढी शीर्ष स्थानमा छ । दोस्रो स्थानमा रहेको काठमाडौंको पनि १० अंक नै छ । यसैगरी चौथो स्थानमा रहेको विराटनगरको सात अंक छ भने पाँचौं स्थानको ललितपुरको ६ र छैटौं स्थानमा रहेको बुटवल लुम्बिनीको पाँच अंक छ ।
सात टोली सहभागी प्रतियोगिताका शीर्ष चार टोलीले प्ले अफमा स्थान बनाउनेछन् । जेठ १ गतेसम्म सञ्चालन हुने प्रतियोगिताका विजेताले ३५ लाख रुपैयाँ पुरस्कार पाउनेछ । यस्तै उपविजेताले १५ लाख रुपैयाँ प्राप्त गर्नेछ । प्रतियोगिताको विधागततर्फका उत्कृष्टले जनही एक लाख रुपैयाँ पाउनेछन् ।
Next Article

नेपालमाला
