काठमाडौँ : पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा एकै दिन ३ हजार ८९३ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंका २ हजार ७७९, ललितपुरका ५१३ र भक्तपुरका ६०१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा नेपालमा ५५ जना कोरोना भाइरस (कोभिड-१९) संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार २४ घण्टामा अहिलेसम्मकै सबैभन्दा धेरैको ५५ जनाको मृत्यु भएको हो । यसैगरी ७ हजार ६६० जना संक्रमित थपिएका छन् ।
मन्त्रालयका अनुसार १६ हजार १३१ जनाको पीसीआर परीक्षण गर्दा ७ हजार ५८७ र ५७१ जनाको एन्टिजेन परीक्षण गर्दा ७३ जनाको रिपोर्ट पोजिटिभ आएको हो । योसँगै नेपालमा सक्रिय संक्रमितको संख्या ५९ हजार ७९८ पुगेको छ ।
नेपालमा अहिलेसम्म तीन लाख ५१ हजार पाँच जनामा संक्रमण पुष्टि हुँदा दुई लाख ८७ हजार ७९० जना निको भएका छन् । नेपालमा निको हुनेको दर ८२ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । मंगलबार ५५ जनाको मृत्यु भएसँगै मृतकको संख्या ३४ सय १७ पुगेको छ ।

नेपालमाला
