काठमाडौं : नेपाल सुपर लिग (एनएसएल) मा बुटवल लुम्बिनी र विराटनगर सिटी एफसीले २–२ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा दुई पटकको अग्रता जोगाउन नसक्दा बुटवलले विराटनगरसँग बराबरी खेलेको हो । बुटवलका लागि ओमोलाजा नुरिन करिम र लक्ष्मण रुचालले एक÷एक गोल गरे । विराटनगरका पेड्रो मान्जी र सन्तोष तामाङले एक÷एक गोल फर्काए ।
खेलको छैटौं मिनेटमा ओमोलाजा नुरिन करिमले गोल गर्दै बुटवललाई १–० को अग्रता दिलाएका थिए । कर्नरमा विराटनगरका डिफेन्डरले क्लियर गर्न नसकेको बललाई करिमले जाली चुमाएका थिए । पहिलो हाफको ४२औं मिनेटमा पेड्रो मान्जीले गोल गर्दै विराटनगरलाई १–१ गोलको बराबरीमा ल्याए ।
पहिलो हाफ बराबरीमा सकिएको खेलको दोस्रो हाफमा दुवै टोलीले आक्रमक खेल खेलेका थिए । ६८औं मिनेटमा लक्ष्मण रुचालले गोल गर्दै बुटवललाई २–१ को अग्रता दिलाए । विलियमको क्रसमा अनमार्क रहेका लक्ष्मणले आकर्षक गोल गरेका थिए । इन्जुरी समयमा सन्तोष तामाङले फ्रिकिकमा गोल गर्दै खेललाई २–२ गोलको बराबरी गरेका थिए ।
शनिबारको इमर्जिङ प्लेयर अफ दी म्याच बुटवल लुम्बिनीका सुमन लामा घोषित भए । उनले १० हजार नगद पुरस्कार प्राप्त गरे । यस्तै प्लेयर अफ दी म्याचको पुरस्कार पेड्रो मान्जी बने । उनले २५ हजार पुरस्कार पाए ।
यस बराबरीसँगै बुटवलले शीर्ष स्थानमा उक्लने मौका गुमाएको छ । बुटवलले तीन खेलबाट पाँच अंक जोडेको छ । बुटवल लिगको दोस्रो स्थानमा झरेको छ । विराटनगरले भने तीन खेलमा चार अंक जोडेको छ ।
Next Article

नेपालमाला
