काठमाडौं : पोखरा थन्डर्सले पहिलो संस्करणको नेपाल सुपर लिग (एनएसएल) फुटबलमा पहिलो जित निकालेको छ । बुधबार भएको खेलमा विराटनगर एफसीलाई १-० गोल अन्तरले पराजित गर्दै पोखराले पहिलो जित निकालेको हो ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा पोखरालाई जित दिलाउन नवयुग श्रेष्ठले निर्णायक गोल गरे । विराटनगरविरुद्ध पोखराले सुरुवातबाटै खेलमा पकड जमाएको थियो । खेलको चौंथो मिनेटमा पोखराका पदम मोक्तानको लामो फ्रिकिकमा राफेल रिमगगोले कनेक्ट गर्न सकेनन् । खेलको नवौं मिनेटमा मौसा अब्बाको पेनाल्टी बक्सबाटको प्रहार बाहिरिएको थियो । ४२ औं मिनेटमा विराटनगरका पेड्रो मान्जीले वान भर्सेस वानमा गोल गर्न सकेनन् । खेलको ५४ औं मिनेटमा डिबक्सको ठिक भित्रबाट पोखराका कप्तान नवयुग श्रेष्ठको पावरफुल सट विराटनगरका गोलकिपर किशोर गिरीले बचाए । खेलको ६१ औं मिनेटमा पोखराका रबि पासवानको प्रहार क्रसबारमा लाग्दै बाहिरिएको थियो । खेलको ८३ औं मिनेटमा नवयुगले गोल गर्दै पोखरालाई १-० को अग्रता दिलाए ।
मौसा अब्बाको फ्रिकिकमा नवयुगले उत्कृष्ट हेडमार्फत गोल गरे । जुन गोल खेलको निर्णायक गोल बन्यो । खेलमा नवयुग प्लेयर अफ दि म्याच चुनिए । उनले २५ हजार प्राप्त गरे । प्रोमोसिङ प्लेयर अफ दि म्याच पोखराका नितिन थापा चुनिए । उनले १० हजार हजार प्राप्त गरे । जितसँगै पोखराले २ खेलमा ३ अंक जोडेको छ । पहिलो खेलमा पोखरा बुटवल लुम्बिनीसँग २-० ले पराजित भएको थियो । पोखरा चौंथो स्थानमा रहेको छ । विराटनगरको यो पहिलो हार हो । पहिलो खेलमा विराटनगरले धनगढी एफसीलाई ३-० ले हराएको थियो । विराटनगरले २ खेलमा ३ अंक जोडेको छ । विराटनगर दोस्रो स्थानमा रहेको छ ।
चितवन र बुटवलको बराबरी
अर्को खेलमा एफसी चितवनले बुटवल लुम्बिनी एफसीसँग बराबरी खेलेको छ । बुधबार भएको खेलमा चितवनले बुटवलसँग २-२ गोलको बराबरी खेल्दै अंक बाडेको हो । दशरथ रंगशालामा सुरुवाती दुई गोलको अग्रता जोगाउन नसक्दा चितवन बराबरीमा रोकिएको हो ।
खेलको १५ औं मिनेटमा जर्ज प्रिन्स कार्कीको गोलबाट चितवनले अग्रता बनाएको थियो । गोरान जेर्कोभिचको पासमा जर्जले वान टचमा गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । खेलको १९ औं मिनेटमा टेक बहादुर बुढाथोकीले गोल गर्दै चितवनलाई २-० को अग्रता दिलाए । बुटवलका डिफेन्डरले क्लियर गर्न नसक्दा टेकले पोस्टको जाली चुमाएका थिए ।
तर, खेलको ३२ औं मिनेटमा आशिष लामाले गोल गर्दै बुटवललाई २-१ को स्थितिमा ल्याए । अर्मान्डको पासमा आशिषले डिबक्सको ठिक बाहिरबाट उत्कृष्ट गोल गरे । त्यसपछि खेलको ६५ औं मिनेटमा लक्ष्मण रुचालले गोल गर्दै बुटवललाई २-२ को बराबरीमा ल्याउदै टोलीलाई हारबाट जोगाए । चितवनका गोलकिपर कुलदिप कार्कीले अघि बढेर बल पन्च गर्दै बाहिर पठाएका थिए । तर, उक्त बल पुर्णरुपमा क्लियर नहुँदा अनमार्क रहेका रुचालले उत्कृष्ट गोल गरे ।
खेलमा चितवनका जर्ज प्रिन्स कार्की प्लेयर अफ दि म्याच चुनिए । उनले २५ हजार प्राप्त गरे । प्रोमोसिङ प्लेयर अफ दि म्याच बुटवलका लक्ष्मण रुचाल चुनिए । उनले १० हजार हजार प्राप्त गरे । यस बराबरीसँगै चितवनले २ खेलमा २ अंक जोडेको छ । पहिलो खेलमा चितवनले ललितपुर सिटी एफसीसँग १-१ गोलको बराबरी खेलेको थियो । बुटवलको यो पहिलो बराबरी हो । बुटवलले पहिलो खेलमा पोखरा थन्डर्सलाई २-० ले हराएको थियो । बुटवलले २ खेलमा ४ अंक जोडेको छ ।

नेपालमाला
