काठमाडौं : कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले शहरी क्षेत्रमा ५ सय सक्रिय संक्रमित नाघे निषेधाज्ञा गर्न सक्ने अधिकार जिल्लालाई दिन सिफारिस गरेको छ । जिल्लामा रहेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) मार्फत निर्णय गर्ने गरी प्रमुख जिल्ला अधिकारीलाई निषेधाज्ञाको अधिकार दिन लागिएको हो । योसँगै काठमाडौं उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारीले पनि संयुक्त छलफल गरेर निषेधाज्ञा लगाउने तयारी गरेका छन् ।
काठमाडौं, भक्तपुर र ललितपुरलाई छुट्टाछुट्टै हेर्न नमिल्ने भन्दै उनीहरुले संयुक्त निर्णय गर्ने तयारी गरेका हुन् । अघिल्लो वर्ष पनि उपत्यकाका तीन जनै प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकबाट निषेधाज्ञाबारे निर्णय हुने गरेको थियो । सोमबार काठमाडौं उपत्यकाका काठमाडौं, ललितपुर र भत्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठक बसेर लकडाउनको सिफारिस गर्नसक्ने भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले जानकारी दिए।
ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले पनि स्थिति नियन्त्रणबाट बाहिर जानसक्ने देखिएकाले सोमबार छलफल गरेर निर्णयमा पुग्ने बताए । काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले उपत्यकामा कोरोना भाइरस महामारीको अवस्था जटिल बन्दै गएको बताए । उनले कडाइ गर्नुको विकल्प नरहेको भन्दै लकडाउनको सिफारिस हुन सक्ने जानकारी दिए ।
सीसीएमसीको बैठकले संक्रमणको अवस्था हेरेर लकडाउनबारे निर्णय गर्ने अधिकार जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी)लाई दिन सिफारिस गरेको छ । पहाडमा २०० र शहरी क्षेत्रमा ५०० संक्रिय संक्रमित भएमा डीसीसीएमसीले निषेधाज्ञा गर्न सक्ने गरी सिफारिस गरिएको एक अधिकारीले जानकारी दिए ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आइतबारको तथ्यांकअनुसार काठमाडौं उपत्यकाका तीन वटै जिल्लाका साथै मोरङ, पर्सा, कास्की, दाङ, बाँके र रुपन्देहीमा संक्रिय संक्रमितको संख्या ५०० नाघेको छ । यस्तै कैलालीमा ४३४, चितवनमा ३९६, सुर्खेतमा ३७३ र बर्दियामा २७९ संक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

नेपालमाला
