काठमाडौं : सुदूरपश्चिम प्रदेशले प्रथम ललितपुर मेयर्स कप महिला टीट्वेन्टी क्रिकेट प्रतियोगितामा दोस्रो जित निकालेको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा मंगलबार भएको खेलमा सुदूरपश्चिमले प्रदेश १ लाई ४० रनले हरायो ।
सुदूरपश्चिमले दिएको एक सय ३० रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको प्रदेश १ ८९ रनमा समेटिएको थियो । प्रदेश १ का लागि रुविना क्षत्रीले सर्वाधिक २७ रन जोडिन् । अप्सरी बेगमले २२, संगीता राईले १३ र निग्मा तामाङले १० रन बनाइन् । सुुदूरपश्चिमकी लक्ष्मी साउदले चार विकेट लिइन् । कविता कुँवर र कविता जोशीले दुई÷दुई विकेट हात पारे ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले २० ओभरमा चार विकेटको क्षतिमा एक सय २९ रन बनाएको थियो । सुदूरपश्चिमका लागि बिन्दु रावलले सर्वाधिक ५२ रन बनाइन् । रेवती धामीले ३० र कविता जोशीले २१ रनको योगदान दिइन् । प्रदेश १ की सवनम राईले दुई तथा ज्योति दनुवारले एक विकेट लिइन् ।
जितसँगै सुदूरपश्चिमले तीन खेलबाट चार अंक बनाएको छ । पहिलो खेलमा ललितपुरलाई हराएको सुदूरपश्चिम दोस्रो खेलमा एपीएफसँग पराजित भएको थियो । प्रदेश १ ले समान खेलबाट दुई अंक बनाएको छ ।
प्रतियोगितामा पाँच टोलीको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले तीन लाख र उपविजेताले एक लाख ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । सर्वोत्कृष्ट खेलाडीले २५ हजार तथा विधागततर्फका उत्कृष्ठले जनही १५ हजार रुपैयाँ पाउने छन् ।
अर्को खेलमा एपीएफले ललितपुर मेयर्स–११ लाई १० विकेटले हरायो । ललितपुरले दिएको ६७ रनको लक्ष्य एपीएफले ९ ओभर १ बलमा बिना विकेटको क्षतिमा पूरा गर्यो । एपीएफको जितमा राजमती ऐरीले अविजित रहदै ३३ रन जोडिन । इन्दु बर्मा २८ रनमा अविजित रहिन् ।
यस अघि टस जितेर पहिले ब्याटिङ गरेको ललितपुरले २० ओभरमा ९ विकेट गुमाएर ६६ रन बनाएको थियो ।
ललितपुरका लागि कन्चन श्रेष्ठले सर्वाधिक १७ रन जोडिन । यस्तै कप्तान सरस्वती चौधरीले १२ रन बनाईन् । सन्तोषी चौधरी १३ रनमा अविजित रहिन् । अनुराधा चौधरी ८ रनमा आउट भईन् । ललितपुरलाई सस्तैमा समेट्न एपीएफकी बिना बुढाले ४ विकेट लिईन् । रेखा रावलले २ विकेट लिईन् । यस्तै कप्तान सिता राना मगर, सुमन विष्ट र करुणा भण्डारीको नाममा १र१ विकेट रह्यो । जितसँगै एपीएफले ३ खेलमा ६ अंक जोडेको छ ।

नेपालमाला
