काठमाडौं : घरेलु टोली नेपालले थ्री नेसन्स कप अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताको उपाधि जितेको छ । सोमबार भएको फाइनलमा बंगलादेशलाई २–१ गोलले पराजित गर्दै नेपालले उपाधि जितेको हो ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा नेपाललाई जित दिलाउन सन्जोक राई र विशाल राईले एक÷एक गोल गरे । बंगलादेशका मेहबुर रहमानले एक गोल फर्काए ।
घरेलु दर्शकसामु सुरुआतबाटै आक्रमण खेल खेलेको नेपालले १७औं मिनेटमा अग्रता लिएको थियो । कर्नरमा बंगलादेशका डिफेन्डरले क्लियर गरेको बललाई सन्जोकले डीबक्स भित्रबाट जाली चुमाएका थिए । मिडफिल्डर सन्जोकको डेब्यु गोल हो । सन्जोकले शनिबार बंगलादेशविरुद्धको खेलमा राष्ट्रिय टोलीका लागि डेब्यु गरेका थिए ।
खेलको ३०औं मिनेटमा नेपालले अग्रता दोब्बर बनाउने मौका गुमायो । बंगलादेशका गोलरक्षक अघि बढेको अवस्थामा अञ्जन विष्टको प्रहार पोस्ट माथिबाट बाहिरिएको थियो । खेलको ४२औं मिनेटमा विशाल राईले गोल गर्दै नेपाललाई २–० को अग्रता दिलाए । रञ्जित धिमालको लामो पासमा सन्जोक राईले वान टचमा उपलब्ध गराएको बलमा विशालले गोल गरेका थिए ।
दोस्रो हाफमा नेपालले केही कमजोर प्रदर्शन गर्दा बंगलादेशले गोल फर्काएको थियो । ८३ औं मिनेटमा बंगलादेशका रहमानले गोल गरेका थिए । जमाल भुयानको कर्नर बलमा अतिरिक्त खेलाडीका रूपमा मैदान प्रवेश गरेका उनले उत्कृष्ट हेड गोल गरेका थिए ।
नेपाली राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक बालगोपाल महर्जनले उपाधि जित्नुको श्रेय खेलाडी र फुटबल समर्थकलाई जाने बताए । ‘यो श्रेय सबै खेलाडी र समर्थकलाई जान्छ । एक सय दिनको तयारीपछि यो सफलता हासिल गर्न सफल भयौं’, महर्जनले भने, ‘आजको खेलमा पहिलेको दुई खेलमा भन्दा रणनीति र खेलाडी परिवर्तन गरेको थिएँ । त्यो योजना सफल भयो ।’
यसैगरी नेपाली टोलीका कप्तान किरण चेम्जोङले आफ्नो कप्तानीमा उपाधि दिलाउन पाउँदा खुसी लागेको बताए । ‘घरेलु मैदानमै उपाधि दिलाउन पाउँदा खुसी छु । यसको श्रेय हाम्रा खेलाडीलाई जान्छ’, उनले भने ।
उपाधिसँगै नेपालले पाँच हजार डलर पुरस्कार प्राप्त ग¥यो । उपविजेतामा सीमित भएको बंगलादेशले भने तीन हजार डलर पुरस्कार पायो । फाइनल खेलको म्यान अफ दी म्याच नेपालका सन्जोग राई बने । यस्तै मोस्ट भ्यालुएबल प्लेयर नेपालकै रोहित चन्द भए । उनले पाँच सय अमेरिकी डलर पुरस्कार पाए ।
विजेतालाई प्रधानमन्त्री केपी शर्मा ओली, युवा तथा खेलकुदमन्त्री दावा तामाङ, राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रमेशकुमार सिलवाललगायतले पुरस्कार प्रदान गरे ।
Previous Article
म्यानमारमा सैन्य कूविरुद्ध आन्दोलन : ५०० प्रदर्शनकारी मारिए
Next Article

नेपालमाला
