काठमाडौं : नेपाल थ्री नेसन्स कप अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार भएको खेलमा बंगलादेशसँग गोलरहित बराबरी खेल्दै नेपाल उपाधि नजिक पुगेको हो । नेपालले सोमबार हुने फाइनलमा बंगलादेशसँग नै प्रतिस्पर्धा गर्नेछ ।
बंगलादेशसँग बराबरीसँगै नेपाल लिगको दोस्रो स्थानमा रहँदै फाइनल पुगेको हो । नेपालले दुई खेलबाट दुई अंक जोड्यो । नेपालले पहिलो खेलमा किर्गिस्तानको यू–२३ ओलम्पिक टोलीसँग गोलरहित बराबरी खेल्दै अंक बाँडेको थियो । बंगलादेश भने शीर्ष स्थानमा रहँदै फाइनलमा पुगेको हो । बंगलादेशले दुई खेलबाट चार अंक जोड्यो ।
पहिलो खेलमा बंगलादेशले किर्गिस्तानलाई १–० ले पराजित गरेको थियो । एक अंक जोडेको किर्गिस्तान भने प्रतियोगिताबाट बाहिरियो ।
शनिबार भएको लिगको अन्तिम खेलमा दुवै टोलीले पाएको मौका सदुपयोग गर्न नसक्दा अंक बाँड्न बाध्य भए । बंगलादेशविरुद्ध नेपालले आक्रामक सुरुवात गरेको थियो । खेलको २१औं मिनेटमा त्रिदेव गुरुङको क्रसमा अञ्जन विष्टको फ्रि हेड पोस्ट्भन्दा केही माथिबाट बाहिरिएको थियो । खेलको ५९औं मिनेटमा सुनील बलको पासमा डिबक्स बाहिर रहेका अञ्जन विष्टको प्रहार बंगलादेशका गोलरक्षक मोहमद सदिउल आलमले विफल पारेका थिए । ६२औं मिनेटमा रञ्जित धिमालको क्रसमा अभिषेक रिजालको हेड बलले पोस्ट्को दिशा लिन सकेन । ८२औं मिनेटमा दर्शन गुरुङको हेड बल क्रसबारमा लागेर बाहिरिएको थियो ।
बंगलादेशका केही आक्रमण पनि विफल भएको थियो । खेलको ३७औं मिनेटमा मोहमद इमोनको हेड बललाई दिनेश राजवंशीले गोललाइनको ठिक अगाडिबाट क्लियर गरेका थिए । ४०औं मिनेटमा कप्तान जमाल भुयानको फ्रिकिक पोस्ट् नजिकबाट बाहिरिँदा बंगलादेश अग्रता बनाउनबाट चुकेको थियो । खेलका रक्षक रोहित चन्द म्यान अफ दी म्याच घोषित भए ।
खेलपछि नेपाली टोलीका मुख्य प्रशिक्षक बालगोपाल महर्जनले अंक नगुमाउने योजना अनुरुप खेलेका कारण बराबरीमा सन्तुष्ट रहेको बताए । ‘हामीले अंक नगुमाउने रणनीति लिएर खेलेका थियौं । त्यो रणनीतिमा हामी सफल पनि भयौं’, उनले भने ।
यसैगरी बंगलादेशका प्रशिक्षक जेम्स डेले प्लेइङ सेटमा दोस्रो रोजाईका खेलाडी उतारेर पनि घरेलु टोली नेपाललाई रोक्न सफल भएकोमा खुसी व्यक्ति गरे । ‘घरेलु टोलीविरुद्ध हामीले राम्रो खेल्यौं’, उनले भने, ‘फाइनलमा सुधारिएको प्रदर्शन गर्ने छौं ।’ उनले सिंगो प्रतियोगितामा गोलको खडेरी रहे पनि फाइनलमा राम्रै गोल हुने विश्वास व्यक्त गरे । ‘नेपाल र बंगलादेश मात्र होइन, सिंगो दक्षिण एसियाली राष्ट्रले गोलका लागि निकै संघर्ष गर्नु पर्दछ’, जेम्सले भने, ‘दक्षिण एसियामा रक्षात्मक खेल खेल्ने भएकाले पनि गोल कम हुने गरेको छ ।’
Previous Article
बौद्धिक चोरी गर्ने त्रिविका ७ प्राध्यापकलाई कारवाही
Next Article

नेपालमाला
