काठमाडौं : आगामी अप्रिल ११ देखि २३ तारिखसम्म पोल्यान्डमा आयोजना हुने अन्तर्राष्ट्रिय बक्सिङ फेडरेसन (आईबा) वल्र्ड बक्सिङ च्याम्पियनसिपका लागि यही मंगलबार र बुधबार भएको नेपाली खेलाडीको छनोट विवादमा मुछिएको छ । नेपाल बक्सिङ संघका अध्यक्ष राम अवाले निकटका व्यक्तिहरुको इसारामा छनोट खेलमा उत्कृष्ट प्रदर्शन गरेका खेलाडीलाई हराएको आरोप खेलाडी, प्रशिक्षकले मात्र होइन, सर्वसाधारणले पनि सामाजिक सञ्जालमार्फत लगाएका छन् ।
खेलाडी छनोटमा नक्सालकी सुष्मा तामाङ र आरडीएस क्लबकी रमिसा श्रेष्ठबीचको खेल सबैभन्दा विवादित बन्न पुग्यो । विपक्षीविरुद्ध उत्कृष्ट प्रदर्शन गर्दागर्दै पनि बक्सिङ संघका नेतृत्व र उनी निकटका केही व्यक्तिको दबाब र प्रभावमा पारेर टेक्निकल कमिटीले रमिसालाई नजिताई नक्सालकी सुष्मा तामाङलाई जिताएको भन्दै मंगलबार केही समय छनोट खेल नै प्रभावित भएको थियो ।
रमिसाका बुवा एवं वरिष्ठ बक्सिङ प्रशिक्षक रमेशदास श्रेष्ठले बक्सिङ संघका नेतृत्वले छनोटका नाममा सेटिङ गरेको बताए । ‘यो छनोट खेलभन्दा पनि सेटिङको खेल हो । जहाँ जित्ने खेलाडीलाई हराउने र हारेका खेलाडीलाई जिताउने काम भएको छ’, प्रशिक्षक श्रेष्ठले भने । उनले नतिजा चित्त नबुझेपछि प्रोटेक्स हाले पनि सबै रेफ्रीजर्जको अंक नदेखाई केही अंक मात्र देखाएर झारा टार्ने काम गरेको दाबी गरे । ‘प्रोटेक्स हाले पनि त्यसको खासै महत्व हुँदैन । पुनः खेल खेलाइँदैन’, उनले भने, ‘आफू नजिकका रेफ्रीजर्ज मात्रै राख्दा संघका नेतृत्वको फेभरमा मात्र निर्णय दिने काम पटक पटक हुँदै आएको छ ।’
वरिष्ठ प्रशिक्षक रमेशदासले भनेजस्तै संघले गरेका हरेक प्रतियोगिता र छनोट खेलमा सदैव एउटै रेफ्रीजर्जहरुको हालिमुहाली रहँदै आएको छ । उनीहरु बाहेक नेपालमा अरु रेफ्रीजर्ज नै छैनन् जस्तो गरेर संघले सदैव उनीहरुलाई मात्र रेफ्रीजर्ज राख्दै आएको छ । संधै रेफ्रीजर्जको एउटै टोली राख्दा संघले गरेका प्रतियोगिताहरु विवादास्पद् पनि बन्दै आएका छन् ।
वि.सं २०७३ सालमा पूर्वाञ्चलमा भएको सातौं राष्ट्रिय खेलकुद प्रतियोगितादेखि यही मंगलबार र बुधबार भएका छनोट खेलसम्म पनि विवादको घेरामा प¥यो । रेफ्रीजर्जको गलत निर्णयकै कारण सातौं राष्ट्रिय खेलकुदमा बक्सिङको खेल एक दिन हुनै सकेन् । खेल पुनः सञ्चालन गर्न त्यतिबेला नेतृत्वले निकै पापड बेल्नु परेको थियो । त्यसपछि संघ आफैले गरेको नोभिस कप, राखेप च्याम्पियनसिप, केही छनोट खेल र आठौं राष्ट्रिय खेलकुदमा पनि त्यही पुनरावृत्ति भएको थियो ।
प्रदेश ५ मा आयोजना भएको आठौं राष्ट्रिय खेलकुदमा त्रिभुवन आर्मी क्लबकी ललिता महर्जनले नेपाल पुलिस क्लबकी दिवाना लिम्बुलाई पराजित गर्दा पनि निकै विवाद भएको थियो । वीर गणेशमान सिंह बक्सिङ प्रतियोगिताकी उत्कृष्ट खेलाडी बनेकी दिवानालाई आठौं राष्ट्रिय खेलकुदको सेमिफाइनलमै ‘भिक्टिम’ बनाइएको चर्चा त्यतिबेला चलेको थियो ।
नेपाल बक्सिङ संघका केन्द्रीय सदस्य एवं प्रवक्ता श्याम अवालेले बजेट अभावका कारण उपत्यका बाहिरका रेफ्रीजर्जलाई बोलाउन नसकेका कारण काठमाडौंमा रहेका रेफ्रीजर्जलाई मात्र छनोट प्रतियोगिताका लागि बोलाएको बताए । उनले सुष्मा र रमिसाको खेलका विषयमा केही विवाद भएको स्वीकार्दै अरुले भनेजस्तो सेटिङ र नेतृत्वका इसारामा नतिजा तलमाथि नभएको बताए । ‘हामीले निष्पक्ष रुपमा खेल सञ्चालन गर्न रेफ्रीजर्जलाई भनेका थियौं । त्यहाँ कसैले कसैका लागि सेटिङ गर्ने र दबाब दिने काम भएको छैन’, उनले भने । श्याम अवालेले बजेट अभावका कारण उपत्यका बाहिरका रेफ्रीजर्जलाई बोलाउन नसकिएको दाबी गरे पनि काठमाडौंमै रहेका उत्कृष्ट रेफ्रीजर्जलाई भने संघले पाखा लगाउने काम गरेको छ । दिनकलाल श्रेष्ठ, जीवन कवे, राजन प्रजापतिलगायतका वान स्टार रेफ्रीजर्जलाई संघले सदैव पाखा लगाउने काम गर्दै आएको छ ।

नेपाल बक्सिङ संघका केन्द्रीय सदस्य एवं प्रवक्ता श्याम अवालेले निष्पक्ष खेल भएको जनाए पनि युट्युवमा राखेको रमिसा र सुष्माको खेलको भिडियोमा धेरैले रेफ्रीजर्ज एवं संघको नेतृत्वको खुलेर आलोचना गरेका छन् । धेरैले रमिसाले स्पष्ट रुपमा जिते पनि सेटिङमा सुष्मालाई जिताएको आरोप लगाएका छन् ।
मंगलबारको खेल मात्र होइन, बुधबार आरडीएसकी सुमिना खड्का र बक्समान्डुकी डेचेन शेर्पाबीचको फाइनल खेल पनि विवादरहित भएन । महिला ६० केजी तौल समूहको खेलमा पनि रेफ्रीजर्जले संघका पदाधिकारीको इसारामा निर्णय गरेको भन्दै विवाद बढेको छ । बक्समान्डुकी शेर्पाले उत्कृष्ट प्रदर्शन गरे पनि रमेशदासलाई थामथामथुमथुम पार्न आरडीएसकी सुमिनालाई जिताएको आरोप लागेको छ । सुमिना र डेचेनको खेलको विषयमा सामाजिक सञ्जालमा पनि विभिन्न टिकाटिप्पणी भइरहेको छ । धेरैले रमेशदासलाई सान्त्वना दिन सुमिनालाई जिताएको आरोप पनि लगाएका छन् ।
आरडीएसका प्रशिक्षक रमेशदास श्रेष्ठले बुधबारको खेलमा आफ्नो खेलाडी विरामी रहेकाले खुलेर खेल्न नसकेको बताए । ‘उसलाई बिहानैदेखि सञ्चो थिएन । मैले सञ्चो नभए नखेल भनेको पनि थिएँ’, श्रेष्ठले भने, ‘पूर्ण रुपमा फिट नहुँदा सुमिनाले भनेजस्तो खेल्न सकिनन् ।’
पुरुष खेलाडीमाथि अन्याय
आईबा वल्र्ड बक्सिङ च्याम्पियनसिपका लागि नेपाल बक्सिङ संघले विवादकैबीच भए पनि महिला खेलाडी छनोट गरे पनि पुरुष खेलाडीलाई भने अन्याय गरेको छ । च्याम्पियनसिपमा सहभागी हुने अधिकार महिला तथा पुरुष खेलाडीको उत्तिकै अधिकार भए पनि यस पटक पुरुष खेलाडीमाथि अन्याय गर्ने काम संघले गरेको छ ।
संघका प्रवक्ता श्याम अवालेले बजेट अभावका साथै खेलाडी नभएका कारण पुरुष खेलाडीलाई वल्र्ड बक्सिङ च्याम्पियनसिपमा सहभागी नगराउने निर्णय भएको बताए । ‘यस पटक पुरुषमा राम्रा खेलाडी देखिएनन् । त्यही कारण महिलालाई मात्रै सहभागी गराउने निर्णय भएको छ’, उनले भने, ‘महिला र पुरुषलाई सहभागी गराउनका लागि एथेष्ठ बजेट संघसँग छैन ।’
उनले महिला खेलाडीलाई मात्रै सहभागी गराउने निर्णय संघले गरेको जनाए पनि नेपाल बक्सिङ संघको बैठक नबसेको लामो समय भइसकेको एक पदाधिकारीले बताए । ‘नेपाल बक्सिङ संघको बैठक नबसेको लामो समय भइसकेको छ । राम अवाले निकटका केही व्यक्तिको निर्णयलाई नै समग्र संघको निर्णय भन्दै भजाउने काम भइरहेको छ’, ती पदाधिकारीले भने । उनले बजेटको अभाव भएको भए एक महिला र एक पुरुष खेलाडीलाई वल्र्ड च्याम्पियनसिपमा सहभागी गराउने विकल्प हुँदाहुँदै पनि दुवै महिला खेलाडी लैजाने राम अवालेको रणनीति बुझ्न नसकेको बताए ।

नेपालमाला
