काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० प्रचण्ड–नेपाल समूहले नेतृ रामकुमारी झाक्री पक्राउ परेकोप्रति चर्को विरोध जनाएको छ । पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले विज्ञप्ति सार्वजनिक गर्दै झाँक्री पक्राउ परेकोप्रति आपत्ति जनाउँदै तत्काल रिहा गर्न माग गरेका छन् ।
प्रवक्ता श्रेष्ठले सार्वजनिक गरेको विज्ञप्तिमा झाँक्रीको गिरफ्तारिले आश्चर्यचकित पारेकोर यो शैलीले अभिव्यक्ति स्वतन्त्रताको खिल्ली उडाएको भन्दै आपत्ति जनाएका छन् । । विज्ञप्तिमा झाँक्री पक्राउ परेपछि सरकारको अलोकतान्त्रिक, निरंकुश र सर्वसत्तावादी चरित्र उदांगो भएको उल्लेख गरिएको छ ।
‘हाम्रो पार्टीका केन्द्रीय कमिटी सदस्य तथा प्रतिनिधिसभा सदस्य कमरेड रामकुमारी झाँक्रीलाई आज गरिएको गिरफ्तारीबाट हाम्रो पार्टी आश्चर्यचकित भएको छ’, प्रवक्ता श्रेष्ठले सार्वजनिक गरेको विज्ञप्तिमा भनिएको छ, ‘नेपालको संविधानले प्रत्याभूत गरेको भिव्यक्ति स्वतन्त्रताको खिल्ली उडाउँदै गरिएको यस गिरफ्तारिले वर्तमान सरकारको घोर अलोकतान्त्रिक, निरंकुश र सर्वसत्तावादी चरित्रलाई उदांगो पारेको छ ।’
राजनीतिक आलोचनालाई राज्यविरुद्धको कसुर देख्नु गम्भीर दृष्टिभ्रम र पूर्वाग्रह भएको प्रवक्ता श्रेष्ठले बताएका छन् । उनले यो कदमलाई सरकारको स्वेच्छाचारिताको संज्ञासमेत दिएका छन् । झाँक्री पक्राउ परेकोप्रति आपत्ति जनाउँदै प्रवक्ता श्रेष्ठले विज्ञप्तिमा निःशर्त र अविलम्ब रिहा गर्न जोडदार माग गरेका छन् । ‘लोकतन्त्रमा राजनीतिमा संलग्न कुनै पनि व्यक्ति वा संस्था आलोचनाभन्दा माथि हुन सक्दैनन् भन्ने तथ्य स्पष्ट हुँदाहुँदै पनि राजनीतिक आलोचनालाई राज्यविरुद्धको कसुर देख्नु गम्भीर दृष्टिभ्रम, पूर्वाग्रह र स्वेच्छाचारिताबाहेक केही होइन’, विज्ञप्तिमा थप भनिएको छ, ‘हाम्रो पार्टी सरकारको यस हर्कतको घोर निन्दा तथा भत्सना गर्दै केन्द्रीय कमिटी सदस्य कमरेड रामकुमारी झाँक्रीलाई निःशर्त र अविलम्ब रिहा गर्न जोडदार माग गर्दछ ।’
निवासबाटै पक्राउ
आन्दोलनरत नेपाल कम्युनिष्ट पार्टीको प्रचण्ड-माधव समूहकी नेतृ रामकुमारी झाँक्रीलाई प्रहरीले पक्राउ गरेको छ। गोरखामा आयोजित एक कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीलाई व्यक्तिगत रुपमा चरित्रहत्या गर्ने ढंगले र एकल महिलाप्रति लक्षित गरेर आपत्तिजनक अभिव्यक्ति दिएको अभियोगमा प्रहरीले उनलाई पक्राउ गरेको हो।
बिहीबार बिहान महानगरीय अपराध महाशाखाको टोली झाँक्रीको निवासमा पुगेको थियो। उनले दिएको अभिव्यक्तिका सन्दर्भमा सोधपुछ गर्न प्रहरीले कार्यालयमा बोलाइएको महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी दीपक थापाले जानकारी दिए। तर, झाँक्री हाजिर नभएपछि प्रहरी उनलाई पक्राउ गर्न घरमै पुगेको थापाले बताए।
प्रहरीले नियन्त्रणमा लिनु अगाडि उनले प्रतिगमनको विरुद्ध र लोकतन्त्रका लागि लडिरहँदा अभिव्यक्त गरेको आधारमा पक्राउ पूर्जी गरेको जानकारी दिइन्। उनले कानुनको पालना गर्दै आफूले गिरफ्तारी दिएको बताइन्। उनले राज्यको कानून पालना गर्न आएका प्रहरीमाथि कुनै अमर्यादित व्यवहार भएको भए क्षमा दिन आग्रह गरिन्। उनलाई राज्यविरुद्धका कसुर अन्तर्गत दफा ५८ कसुरमा पक्राउ गरेको हो।
अहिले झाँक्री निवासमा उनका समर्थकले नाराबाजी गरिरहेका छन्। उनीहरुले प्रतिगमन मूर्दावाद, प्रहरी हस्तक्षेप बन्द गरलगायतका नारा लगाइरहेका छन्।

नेपालमाला
