काठमाडौं : नेपाली कांग्रेसको शुभेच्छुक संस्थाका रुपमा २०७१ सालमा लोकतान्त्रिक खेलकुद संघ स्थापना भयो । स्थापनासँगै संघले कार्यालय स्थापना पनि ग¥यो । विभिन्न संघसंस्था र व्यक्तिहरुसँग सहयोग मागेर कार्यालयमा फर्निचर राखिएको थियो । त्यही कार्यालयमा संघको बैठक पनि बस्यो ।
बैठकमा कार्यालय सञ्चालनका लागि पहिलो चरणमा संघका सदस्यहरुसँग आर्थिक सहयोग संकलन गर्ने विषयमा गहन छलफल भयो । आर्थिक संकलन गर्ने एजेन्डामा सबैले सहमति जनाएपछि बोलकबोल सुरु भयो । पदीय हैसियत अनुसार आ–आफ्नो सहयोग राशि घोषणा गर्ने र रजिस्टरमा लेख्ने काम भयो । सबैले बोलकबोल गरेको रकम तत्काल नभएकाले पछि दिने आश्वासन दिए । बैठकमा सहभागी संघका केन्द्रीय सदस्य तथा राष्ट्रिय खेलकुद परिषद्को प्रचारप्रसार शाखामा कार्यरत एक कर्मचारीले आफूसँग खल्तीमा दुई हजार रहेको जनाउँदै त्यही रकम सहयोग गर्ने घोषणा गरे । उनले दिएको रकमले संघका पदाधिकारीले चिया खाजा खाए र बैठकबाट बिदा भए ।
त्यसपछि लोकतान्त्रिक संघको कार्यालय संधै बन्द हुन थाल्यो । त्यहाँ गएपछि पहिले घोषणा गरेको रकम दिनुपर्ला भनेर संघका पदाधिकारी तर्कँदै हिंड्न थाले । संघको पदाधिकारीको हैसियतमा धेरैले आफ्नो स्वार्थसिद्ध गरे तर, संघको कार्यालय भने विरानो बन्न पुग्यो ।
लोकतान्त्रिक संघको कार्यालय रहेका घरबेटीले भाडाका लागि पटक पटक अध्यक्षलगायतलाई ताकेता गरे । तर, भाडा तिर्नुपर्ला भनेर कोही पनि संघको कार्यालय वरपर ढिम्केनन् । लामो समयसम्म ताकेता गर्दा पनि भाडा नतिरेपछि घरबेटीले कार्यालयको सामानहरु लिलामी गरेर आफ्नो भाडा उठाए ।
कार्यालय लिलामी भएपछि पहिले लोकतान्त्रिक संघको हौवा दिनेहरु सेलाउन थाले । संघको नेतृत्व गरेका व्यक्ति पनि दशरथ रंगशाला वरिपरि देखिन छाडे । लामो समयसम्म लोकतान्त्रिक खेलकुद संघ बेवारिसे अवस्थामा पुग्यो ।
बुधबार लोकतान्त्रिक खेलकुद संघलाई रसातलमा पु¥याउने र नेपाली कांग्रेसलाई बद्नाम गराउने त्यही व्यक्तिलाई फेरि संघको चाबी सुम्पने काम पूर्वमन्त्री एवं कांग्रेस नेता मोहनबहादुर बस्नेतले गरे । नेपाली कांग्रेसको खेलकुद विभाग प्रमुख बस्नेतले पहिले नै असक्षम सावित भइसकेका देवेन्द्र शेरचनलाई पुनः संघको नेतृत्व सुम्पिए । पदाधिकारी र सदस्यहरुमा पनि अधिकांश पुरानालाई नै दोहो¥याइयो । तर, पहिले जसले इमान्दार रुपमा काम गरेका थिए, उनैलाई पाखा लगाउने काम खेलकुद विभाग प्रमुख बस्नेतले गरे ।
काठमाडौंमा विशेषगरी दशरथ रंगशाला वरपर कार्यक्रम गर्दा कतै घरबेटीले चिनेर भाडा माग्ने हुन कि भन्ने डरले होला शेरचनले यसपटक खेलकुद विभाग प्रमुख बस्नेत, सचिव मीनकृष्ण महर्जनलगायतलाई गृह जिल्ला कास्कीमै बोलाएर नेतृत्वको जिम्मा लिए । अझ अचम्म ! नेतृत्व लिने क्रममा उनले खेलाडीलाई फुर्सदमा बस्न नदिइ लगातार खेलकुद गतिविधि सञ्चालन गरिरहने दाबी पनि गरे । उनको भाषण सुन्दा धेरैको मुहार बिग्रिए पनि पद नपाइएला भनेर कसैले केही बोलेनन् । प्रतिक्रिया जनाएनन् ।
उनलाई संघको नेतृत्व सुम्पिँदै खेलकुद विभाग प्रमुख बस्नेतले विगतमा केही प्राविधिक कारणले संघ निस्क्रिय रहेको जनाउँदै अबका दिनमा संघ जाग्ने घोषणा गरे । खेलकुद विभाग प्रमुख बस्नेतले ‘प्राविधिक कारण’ भनेर केलाई संकेत गरेका हुन्, त्यसको भेउ भने कार्यक्रममा उपस्थित कसैले पनि पाउन सकेनन् ।
Previous Article
बन्दमा १८८ पक्राउ, ३३ सवारी तोडफोड
Next Article

नेपालमाला
