काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली खेलकुदको विकासका लागि बजेटको कमी नहुने बताएका छन् । राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले मंगलबार आयोजना गरेको ‘खेलकुदसँग प्रधानमन्त्री’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले बजेटका कारण खेलकुदका गतिविधि नरोकिने बताए । प्रधानमन्त्री ओलीले १३औं दक्षिण एसियाली खेलकुद (साग)मा नेपालले पाएको सफलताको खुलेर प्रशंसा गर्दै अबका दिनमा स्वर्ण पदकजति सबै नेपालले जित्नुपर्नेमा जोड दिए । सागको सफलतालाई सरकारले सक्दो सम्मान र प्रोत्साहन गरेको उनको भनाइ थियो ।
प्रधानमन्त्री ओलीले खेलकुदलाई जीवन र संस्कृतिसँग जोड्नुपर्ने बताउँदै यसलाई जीवनको अंग बनाउनुपर्नेमा जोड दिए । उनले खेलको विकासका लागि गरिएको खर्च व्यर्थ नहुने भन्दै खेलाडीको उत्पादन, पूर्वाधार, प्रशिक्षक र वैज्ञानिक प्रशिक्षण तथा राम्रो उपकरण भए नेपालले सबैलाई जित्न सक्ने पनि बताए ।
कार्यक्रममा राखेपका सदस्यसचिव रमेशकुमार सिलवाल र युवा तथा खेलकुदमन्त्री दावा लामाले खेलकुदको अवस्था, अस्थायी कर्मचारीको दरबन्दी व्यवस्थापन, स्थायी कर्मचारीका बढुवालगायतका विषय प्रधानमन्त्रीसमक्ष प्रस्तुत गरेका थिए ।

नेपालमाला
