काठमाडौं : नेपाल तरुण दलले माउ पार्टी नेपाली काँग्रेसले संसद विघटनविरुद्ध यही पुस २५ गते, माघ ३ गते र माघ ८ गते विभिन्न तहमा गर्ने प्रदर्शन भव्य, व्यवस्थित र शान्तिपूर्ण बनाउन आफ्ना जिल्ला समितिहरुलाई निर्देशन दिएको छ ।
तरुण दलका अध्यक्ष जितजंग बस्नेतले सोमबार सबै जिल्ला समितिहरुलाई परिपत्र गर्दै जिल्लाका सम्पूर्ण क्षेत्र, महानगर, नगरपालिका, गाउँपालिका एवं वडा तहका समितिहरुलाई आन्दोलनमा परिचालन निर्देशन दिएका हुन् ।
काँग्रेसले पुस २५ गते ३३० प्रदेश सभा निर्वाचन क्षेत्रहरुमा विरोध प्रदर्शन एवं सभाको आयोजना गर्ने निर्णय गरेको छ । यस्तै माघ ३ गते शनिबारका दिन देशैभरका ७५३ पालिकहरुमा विरोध प्रदर्शन एवं र माघ ८ गते बिहीबारका दिन देशैभरका ७५३ पालिकहरुका ६,७४३ वडाहरुमा विरोध प्रदर्शन एवं सभाको आयोजना गर्ने काँग्रेसकाे तयारी छ ।
‘नेपाल कम्यूनिष्ट पार्टीको के.पी. शर्मा ओली नेतृत्वको सरकारले गरेको प्रतिनिधिसभा विघटनको असंबैधानिक र अलोकतान्त्रिक कदम, व्याप्त भ्रष्टाचार, कोभिड-१९ नियन्त्रण र व्यवस्थापनमा सरकारको असफलता र कुशासनको विरुद्धमा नेपाली काँग्रेस पार्टीले तपशिल बमोजिमका विरोध प्रदर्शनका कार्यक्रमहरु गर्ने भएकोले उक्त विरोध कार्यक्रमलाई अझ बढी प्रभावकारी र सशक्त बनाउनका लागि नेपाल तरुण दलको त्यस जिल्ला समितिले जिल्ला पार्टी संग समन्वय गरी त्यस जिल्ला समिति अन्तर्गतका सबै तह, तप्का र निकायका तरुणहरुलाई सक्रिय रुपले सहभागी गर्न/गराउन नेपाल तरुण दल केन्द्रिय समिति यसै परिपत्र मार्फत निर्देशन गर्दछ,’ परिपत्रमा भनिएको छ ।


नेपालमाला
