काठमाडौं : मौसम पूर्वानुमान महाशाखाका अनुसार काठमाडौं उपत्यकामा यो वर्षकै सबैभन्दा चिसो भएको छ । केही दिनदेखि बढेको चिसो अझै बढ्ने महाशाखाले बताएको छ । बुधबार बिहान न्यूनतम तापक्रम ३।४ डिग्री सेल्सियस रहेकामा घाम लागे पनि तापक्रम घटेर २.८ डिग्री सेल्सियस पुगेको महाशाखाले जनाएको छ ।
बुधबार सबैभन्दा कम जुम्लामा माइनस ७.१ डिग्री सेल्सियस पुगेको छ । दिपायलमा १.८, डडेलधुरामा ३.५, वीरेन्द्रनगरमा ३.६, ताप्लेजुङमा ४.८ डिग्री रहेको छ । यसअघि मंगलबार सबैभन्दा बढी भैरहवामा २६.२ डिग्री रहेको थियो ।
हाल देशमा पश्चिमी वायुको आंशिक तथा अरबियन सागरमा रहेको न्युन चापीय क्षेत्रको प्रभाव रहेको छ । हाल प्रदेश २, बागमती प्रदेशका भूभागहरुमा आंशिकदेखि सामान्य बदली तथा पूर्वी र पश्चिमी तराईका केही भूभागहरुमा हुस्सु– कुहिरो लागेको छ।
तराईका अधिकांश भूभागहरुमा तथा पहाडका केही भूभागहरुमा बिहानीपख हुस्सु तथा कुहिरोको कारणले वायुको पारदर्शितामा कमी हुन गइ सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
डिसेम्बर २०–२२ आउन बाँकी नै रहेकाले मुलुकभरको तापक्रम अझै घट्दो क्रममा रहेको मौसमविद्हरुले बताएका छन् । यो समयमा वृद्धवृद्धा र बालबालिकालाई चिसोले कक्रक्क पार्ने भएकाले सचेतना अपनाउन चिकित्सकहरुले आग्रह गरेका छन् ।

नेपालमाला
