काठमाडौं : बुधबार काठमाडौं उपत्यकामा थप ५०७ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण देखिएको छ। काठमाडौंमा ३९३, ललितपुरमा ७५ र भक्तपुरमा ३९ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।
पछिल्लो २४ घण्टामा उपत्यकाकासहित १ हजार ५६ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमित थपिएका छन्। ६ हजार २८६ स्वाब नमूना परीक्षण गराउँदा १ हजार ५६ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
नयाँ थपिएका सहित कोरोना संक्रमितको संख्या २ लाख ४४ हजार ४३३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यस्तै बुधबार एकैदिन १ हजार ४८३ जना डिस्चार्ज भएका छन्। योसहित कोरोना जित्नेको संख्या २ लाख ३० हजार ५३७ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार निको हुनेको दर ९४.२ प्रतिशत हो।
देशभर सक्रिय संक्रमितको संख्या भने १२ हजार २४५ रहेको छ। यस्तै आइसोलेसनमा १२ हजार २४५ र क्वारेन्टाइनमा ५२५ जना रहेका छन्।
यस्तै कोरोना गम्भीर बिरामी २३० जनाको आइसीयूमा र ५७ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ। अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या १६ सय ५१ पुगेको मन्त्रालयले जनाएको छ। बुधबार मात्र कोरोनाबाट थप १४ जनाको मृत्यु भएको छ। मंगलबार कोरोनाबाट २३ जनाको मृत्यु भएको थियो।

नेपालमाला
