काठमाडौं : कतारले सन् २०३० को एसियाली खेलकुद आयोजनाको दावेदारीका लागि सहयोग र समर्थन मागेको छ । नेपाल भ्रमणमा रहेको कतार ओलम्पिक कमिटीका प्रतिनिधि मण्डलले नेपाल ओलम्पिक कमिटी (एनओसी) का प्रतिनिधिसँग भेट गर्दै एसियाली खेलकुद आयोजनाका लागि सहयोग गर्न अनुरोध गरेको छ ।
कतार ओलम्पिक कमिटीका महासचिव जसिम रसिद जेए अल्बुनइनको नेतृत्वमा नेपाल भ्रमणमा आएको टोलीले बिहीबार सातदोबाटोस्थित नेपाल ओलम्पिक कमिटीको मुख्यालयमा नेपाली टोलीसँग छलफल गरेको थियो । छलफलमा कतारी टोलीले सन् २०३० को एसियाली खेलकुद आयोजनाको दाबेदारी दिन लागेको जानकारी गराउँदै नेपाललाई सहयोग र समर्थनका लागि अनुरोध गरेको थियो ।
कतारी टोलीले एसियाली खेलकुद आयोजनाका लागि कतारले प्रस्तुत गरेको दाबेदारीको विशेष कार्यक्रम पनि प्रस्तुत गरेको एनओसीले जनाएको छ । कार्यक्रममा नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले कतारी टोलीलाई नेपालमा स्वागत गर्न पाउँदा खुसी व्यक्त गर्दै सन् २०३० को एसियाली खेलकुद आयोजनाको कतारी दावेदारीको सफलताको कामना गरेका थिए ।
‘कतारले यसअघि पनि सन् २००६ मा एसियाली खेलकुद सफलतापूर्वक आयोजना गरिसकेको छ । खेलकुद विकासमा कतार र नेपाल आपसी सहयोगका लागि प्रतिबद्ध छन्,’ अध्यक्ष श्रेष्ठले भने, ‘नेपाल र कतारको दुईपक्षीय सम्बन्ध पनि सुमधुर रहेको छ र यसले हामीबीचको खेल सम्बन्ध बलियो बनाउन मद्दत गरेको छ ।’
कार्यक्रममा कतारी टोलीका प्रमुख अल्बुनइनले नेपाल आउन पाउँदा खुसी लागेको बताउँदै आफ्नो देशको दाबेदारीमा नेपालको सहयोग र समर्थनका लागि अनुरोध गरेका थिए । कतारी टोलीमा एसियाली एथलेटिक्स संघका अध्यक्ष डहलान जमन अल हमद र एसियाली भारोत्तोलन संघका अध्यक्ष मोहम्मद युसेफ अल मनको समेत उपस्थिति रहेको थियो ।
नेपाली टोलीमा उपाध्यक्ष तथा कार्यकारी निर्देशक चतुरानन्दराज बैद्य र महासचिव निलेन्द्रराज श्रेष्ठको पनि उपस्थिति रहेको थियो ।
Previous Article

नेपालमाला
