काठमाडौं : नेपालमा आयोजना भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) को खर्च विवरण सार्वजनिक भएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले आइतबार एक पत्रकार सम्मेलन गर्दै १३ औं सागको खर्च विवरण सार्वजनिक गरेको हो ।
राखेपले १ अर्ब ३७ करोड २७ लाख ९४ हजार ४ सय २३ रुपैयाँ आम्दानी भएको जनाएको छ । राखेपले आम्दानीका स्रोतमा सरकारबाट प्राप्त, टिकटबाट उठेको रकम, विज्ञापनको रकम र सहभागि राष्ट्रबाट प्राप्त भएको जनाएको छ । राखेपले १ करोड ९३ लाख ८० हजार २२४ रुपैया रकम फ्रिज भएको पनि जनाएको छ ।
त्यस बाहेक राखेपले १३ औं सागका पदक विजेता खेलाडी, प्रशिक्षक र सहभागि राष्ट्रिय संघहरुलाई पुरस्कारवापत २२ करोड ७६ लाख वितरण गरिएको समेत जनाएको छ । राखेपले साग सकिएको एक वर्षपछि प्रतियोगिताको हिसाब किताब सार्वजनिक गरेको हो ।
१३ औं साग गत वर्षको मंसिर १५ देखि २४ गतेसम्म काठमाडौं, पोखरा र जनकपुरमा आयोजना भएको थियो । घरेलु भूमिमा भएको सागमा नेपालले कुल २ सय ६ पदक जितेको थियो । जसमा ५१ स्वर्ण, ६० रजत र ९५ कास्य पदक रहेको छ । तर, लामो समयसम्म राखेपले खर्च विवरण सार्वजनिक गर्न सकेको थिएन।
साग आयोजना तथा सञ्चालन कार्यविधिमा प्रतियोगिता सम्पन्न भएको तीन महिनाभित्र खर्च विवरण सार्वजनिक गर्नुपर्ने उल्लेख छ । तर, राखेपले तीनै स्थानको हिसाबकिताब समयमा नआएको र कोरोनाको महामारीको कारण ढिला भएको जनाएको छ ।

नेपालमाला
