काठमाडौँ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले प्रतिवेदन पेश गर्नुभएको छ । ओलीले शनिबारको सचिवालय बैठकमा जवाफी राजनीतिक प्रस्ताव पेश गरेका छन् । ३८ पृष्ठको जवाफी पत्रमा अध्यक्ष ओलीले बुँदाबुँदा लेखेका छन् । उनको प्रतिवेदनमा कुल ५३ बुँदामा कार्यकारी अध्यक्ष अध्यक्ष पुष्पमल दाहाल ‘प्रचण्ड’लाई जवाफ दिएका छन् ।
नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार प्रधानमन्त्री ओलीले सचिवालय बैठकमा पेश गरेको जवाफी पत्र खामबन्दी गरेर सचिवालय सदस्यलाई बाँडिएको हो । सचिवालय सदस्यले अध्ययन गरेपछि मंसिर १६ गते अर्थात् मंगलबार बस्ने बैठकमा यसका विषयमा छलफल हुने प्रवक्ता श्रेष्ठले बताए । उनका अनुसार कात्तिक २८ गते कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेश गरेको प्रस्ताव र यो प्रस्ताव दुवैको अध्ययनपछि १६ गतेको बैठकमा छलफल गर्ने गरी आजको बैठक सम्पन्न भएको हो । अर्को बैठक यही मङ्सिर १६ गते पार्टी कार्यालय धुम्रबाराहीमा बस्नेछ ।
सचिवालय बैठकमा छलफल टुंगो नलागे १८ गते बस्ने स्थायी कमिटी बैठकमा छलफल हुनेछ । प्रवक्ता श्रेष्ठका अनुसार स्थायी किमिटी बैठकमा पनि विवाद टुंगो नलागे २५ गतेदेखि बस्ने केन्द्रीय समिति बैठकमा छलफल हुनेछ ।
शनिबाको बैठकमा अध्यक्ष ओली, कार्यकारी अध्यक्ष प्रचण्डसहित बैठकमा सहभागी नेताले आ–आफ्नो धारणा राखेका छन् । नेताहरुले धारणा राख्ने क्रममा पार्टी विभाजनतर्फ जानु नहुने कुरामा जोड दिएको प्रवक्ता श्रेष्ठले बताए । यसअघि मंसिर ३ गते नेकपा सचिवालय बैठक बसेको थियो । कात्तिक २८ गतेको सचिवालय बैठकमा प्रचण्डले पेश गरेको प्रतिवेदनप्रति आक्रोश व्यक्त गर्दै ओलीले आफूले नयाँ प्रतिवेदन प्रस्तुत गर्ने जानकारी मंसिर ३ गतेको बैठकमा गराएका थिए ।

नेपालमाला
