काठमाडौं : पाहुना टोली नेपालसँगको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल शृंखला बंगलादेशले जितेको छ । मंगलबार भएको दोस्रो मैत्रीपूर्ण खेल बराबरीमा सकिएपछि बंगलादेशले शृंखला १–० ले जितेको हो । पहिलो खेलमा बंगलादेशसँग नेपाल २–० गोलले पराजित भएको थियो ।
ढाकास्थित बंगबन्धु रंगशालामा मंगलबार नेपालले बंगलादेशसँग गोलरहित बराबरी खेलेको थियो । बंगलादेशविरुद्ध निकै आक्रामक खेल खेले पनि नेपालले गोल भने गर्न सकेन ।
बंगलादेशको पोस्ट्मा लगातार आक्रामण बुने पनि गोल नहुँदा नेपाल निरास बन्न पुगेको थियो । खेलको इन्जुरी समयमा नवयुग श्रेष्ठको हेड प्रहार पोस्टमा लागेर फर्किनु नेपालका लागि दुर्भाग्य बन्यो । रक्षात्मक खेल्दै काउन्टर अट्याकमा जोड दिएको बंगलादेशले पनि गोलका लागि उत्कृष्ट आक्रमण बुन्न सकेन ।
दोस्रो मैत्रीपूर्ण खेलमा नेपालका छिरिङ गुरुङ, पुजन उपरकोटी र सेसेहाङ आङ्देम्बेले डेब्यु गरेका थिए ।
नेपालले सन् २०२२ मा कतारमा आयोजना हुने फिफा विश्वकप छनोटको तयारीका लागि बंगलादेशसँग मैत्रीपूर्ण खेल खेलेको हो । नेपालले बंगलादेशसँगको खेलका लागि दशैंलगत्तै अभ्यास सुरु गरेको थियो । अधिकांश युवा र केही पुराना खेलाडीको समिश्रण रहेको २५ सदस्यीय नेपाली टोलीमा बंगलादेश गएको थियो ।
विश्वकप छनोटअन्तर्गत एसियाली देशको समूह ‘बी’ मा रहेको नेपालले अब चाइनिज ताइपेइ, अष्ट्रेलिया र जोर्डनसँग तीनवटा खेल खेल्न बाँकी छ । एसियन फुटबल महासंघ (एएफसी) ले कोरोनाका कारण स्थगित भएको छनोट खेलको नयाँ मिति समेत सार्वजनिक गरिसकेको छ । एएफसीले फिफा विश्वकप छनोट र एसियन कप छनोटको दोस्रो चरण अन्तर्गतका बाँकी खेलहरु सन् २०२१ को आगामी जुन १५ तारिखसम्म सम्पन्न गर्ने जनाएको छ ।
एएफसीको प्रतियोगिता समितिको बुधबार सम्पन्न बैठकले विश्वकप छनोट र एसियन कप छनोटका बाँकी खेल जुन १५ भित्र सक्ने निर्णय गरेको हो । कोरोना भाइरसको महामारीका कारण यसअघि अक्टोबर र नोभेम्बरमा तय गरिएको छनोट खेलहरु स्थगित भएको थियो । नेपाले बाँकी तीनवटै खेल दशरथ रंगशालामा खेल्नेछ ।
नेपालले यसअघि पाँच खेल खेलिसकेको छ । नेपालले यसअघिका चाईनिज ताइपेइलाई मात्र २–० गोलले हराएको थियो । नेपाल आफ्नो पहिलो खेलमा कुवेतसँग ७–० र दोस्रो खेलमा १–० गोलले पराजित भएको थियो । नेपाल अष्ट्रेलियासँगको पहिलो खेलमा ५–० र जोर्डनसँग ३–० गोलले पराजित भएको थियो ।
अहिले समूहमा १२ अंकसहित अष्ट्रेलिया शीर्षस्थानमा छ । कुवेत १० अंकसहित दोस्रो, १० नै अंक बनाएको जोर्डन तेस्रो, नेपाल तीन अंकसहित चौथो र अंक विहिन चाइनिज ताइपेई पुछारमा छ ।
Previous Article
अमादब्लममा आरोहीको आकर्षण
Next Article

नेपालमाला
