काठमाडौं : कीर्तिपुर–६ चोभारमा रहेको आदिनाथ मन्दिरमा यस पटक नित्य पूजा मात्र हुने भएको छ । कोरोना भाइरसको महामारीका कारण कोजाग्रत पूर्णिमादेखि एक महिनासम्म लाग्ने मेला स्थगित गरी नित्य पूजा मात्र गर्न लागिएको हो ।
कीर्तिपुर नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष न्हुछेबहादुर महर्जनले एक सूचना प्रकाशित गर्दै अहिलेको विषम् परिस्थितिमा हरेक वर्ष एक महिनासम्म लाग्ने आदिनाथ लोकेश्वर मेला स्थगित गरिएको जानकारी दिएका छन् ।
आदिनाथ लोकेश्वरको मन्दिर आफैंमा एउटा अनौठो सम्पदा हो । मन्दिरको चारैतिर पित्तलका विभिन्न भाँडाकुडा किलाले ठोकेर अड्काइएका हुन्छन्— जस्तो भात पकाउने कसौरी, थाल, लोटा, डाडु, पन्यू, पूजाको थाल आदि । यस्ता भाँडाकुडा मन्दिरको आफ्नै वस्तु भने होइन । भक्तजनहरूले आफ्ना दिवंगत आफन्तका सम्झनामा यस्ता भाँडाकुडा मन्दिरमा ल्याएर ठोक्ने रहेछन् जो अहिले आएर मन्दिरको मौलिक परिचयजस्तै बनिसकेको छ ।
यो मन्दिरमा कात्तिक महिनामा अर्को एउटा अनौठो व्रत बस्ने परम्परा छ । हिन्दू संस्कृतिमा विवाह गर्न व्रत बस्ने चलन छ । तर, यो मन्दिरमा सम्बन्धविच्छेदका लागि व्रत बस्ने गरिन्छ । श्रीमान् श्रीमतीहरू खराब सम्बन्धका कारण अलग बसिरहेका छन् भने त्यो सम्बन्धलाई पुनः जोड्ने वा पूरै विच्छेद गर्ने भन्ने अन्तिम निर्णय यही मन्दिरमा बस्ने एउटा व्रतले गर्छ । यो व्रतलाई स्थानीय नेपाल भाषामा ‘माय् अप्सं’ र नेपालीमा ‘निर्जला व्रत’ पनि भनिन्छ ।
प्रत्येक वर्ष हरिबोधिनी एकादशीका दिन उक्त व्रत सुरु हुन्छ । पाँच दिन लगातार बसेर पूर्णिमाका दिन समापन हुन्छ । अत्यन्त कठिन मानिने यसमा जो बसे पनि हुन्छ । तर, व्रतको अन्तिम दिन भने सबै व्रतालुलाई घरकै सदस्य आएर सँगै लानुपर्ने हुन्छ । तिनै व्रतालुका बीच केही त्यस्ता महिला पनि व्रतमा लीन हुन्छन् जो श्रीमान् वा घरका अरू सदस्यहरूसँग सम्बन्ध बिग्रेका कारण माइतीमा बसिरहेकी हुन्छिन् ।
व्रतको अन्तिम दिन उनलाई श्रीमान् आफैंले लिएर गए भने सम्बन्ध पुनः जोडिन्छ । श्रीमान् उनलाई लिन आएनन् भने त्यस दिनपछि उनीहरूको दाम्पत्य जीवन आधिकारिक रूपमै समाप्त भएको ठहरिन्छ । त्यो एक किसिमले सांस्कृतिक-सामाजिक रूपले मान्यता प्राप्त भएको ‘सम्बन्धविच्छेद’ नै हो । यो ‘सम्बन्धविच्छेद’पछि महिला र पुरुष दुवैलाई अर्को विवाह गर्ने स्वतन्त्रता प्राप्त हुन्छ । यसपछि गरिएको दोस्रो विवाहलाई अर्को पक्षको कसुर लाग्दैन ।
अर्को कुरा, व्रत बसेकी कुनै महिलाई श्रीमान्ले लिन आएनन् भने त्यति बेला उनलाई अरू कुनै पुरुषले पनि लिएर जानसक्छ । श्रीमान्ले लिन नआएकी महिलालाई अरू पुरुषले लिएर जान चाहन्छन् र महिला पनि त्यसका लागि राजी छन् भने त्यसलाई पनि यथास्थानमै वैधानिकता प्राप्त हुन्छ ।
मानिसहरू भगवान् साक्षी राखेर विवाह गर्छन् । भगवान्को अगाडि गरिएको विवाहलाई समाजले पनि वैधानिकता प्रदान गर्छ । तर, गरेका सबै विवाह सफल हुन्छन् भन्ने छैन । केही विवाह बीचमै टुट्न सक्छ । त्यस्तो टुटेको विवाहलाई सम्बन्धविच्छेदको सामाजिक वैधानिकता प्रदान गर्ने मन्दिर भने यही चोभारको लोकेश्वरमात्रै हो ।
र, यहाँ त्यो वैधानिकता प्राप्त गर्ने एउटा विधि पनि बनाइएको छ, ‘माय् अप्सं’ अर्थात व्रत बस्ने । यो व्रत बस्नुको अर्थ हुन्छ बीचमा लट्किरहेको वैवाहिक सम्बन्धलाई वार कि पारको अवस्थामा पुर्याउनु । विवाहको विधि सबै मन्दिरमा पाइन्छ । तर, सम्बन्धविच्छेद भने यही मन्दिरमा मात्र हुन्छ ।व्रत बस्नु सजिलो भने छैन । यो व्रतको नियम कडा छ । व्रत सुरु गरेपछि पाँच दिनसम्म केही खानु हुँदैन । केवल लोकेश्वरको पुजारीले दिने जल (पानी) मात्रै खान पाइन्छ । त्यो जल भने जति खाए पनि हुन्छ । व्रत अवधिभर व्रतालु बहाल छोडेर बाहिर जानु हुँदैन, बहालभित्र पनि कुकुरलाई छुनु हुँदैन, जुत्ता लगाउनु हुँदैन, मन्दिरको जलबाहेक अर्को पानी छुनु हुँदैन । त्यतिमात्रै होइन, व्रतालुहरूको घरमा पनि केही नियम पालना गर्नुपर्ने हुन्छ ।


नेपालमाला
