काठमाडौं : नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक शुक्रबार बस्ने भएको छ। बैठक पार्टीको केन्द्रीय कार्यालय ललितपुरमा अपराह्न १ बजे बस्ने कांग्रेसले जनाएको छ।
पार्टीको आगामी १४ औं महाधिवेशनको तयारी सन्दर्भमा हुने उक्त बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्यहरु तथा आमन्त्रित केन्द्रीय सदस्यलाई उपस्थित हुन पार्टीले अनुरोध गरेको छ।कांग्रेसले फागुन ७ देखि १० गतेसम्म पार्टीको १४औं महाधिवेशन गर्ने गरी तालिका सार्वजनिक गरे पनि अहिलेसम्मको तयारीले त्यो संभावना निकै कमजोर देखिएको छ। अधिकाँश नेताहरूले फागुनमा संभव नहुने भन्दै मिति सार्न सुझाव दिएका छन्। संभवत: शुक्रबारको बैठकमा महाधिवेशनको कार्यतालिका परिवर्तनबारे छलफल भएर निर्णय हुनेछ।
असार १३ गतेको केन्द्रीय समितिको बैठकले संशोधित कार्यतालिका पारित गरेको थियो।संशोधित कार्यतालिका अनुसार ०७७ पुस ६ मा गाउँ र नगर वडा अधिवेशन गर्ने, पुस ८ मा गाउँ र नगरपालिका अधिवेशन गर्ने, पुस ११ मा प्रदेश सभा क्षेत्रीय अधिवेशन गर्ने, पुस १३ मा प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन (एक मात्र निर्वाचन क्षेत्र भएका जिल्ला अधिवेशन) गर्ने, पुस १६ मा (एकभन्दा बढी प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्लामा) अधिवेशन गर्ने, माघ ६ मा प्रदेश अधिवेशन गर्ने र फागुन ७ देखि १० सम्म काठमाडौंमा केन्द्रीय महाधिवेशन गर्ने गरी निर्धारण गरिएको थियो।
विधानअनुसार वर्तमान केन्द्रीय समितिको ४ वर्षको कार्यकाल गत फागुनमै सकिएको छ। विधानको व्यवस्थाअनुसार एक वर्ष कार्यकाल थप गर्दै १४औं महाधिवेशन फागुन ७ देखि गर्ने भनी गत माघ १३ गते बसेको केन्द्रीय समिति बैठकले निर्णय गरेको थियो। अतिरिक्त एक वर्ष कार्यकाल बढाउन पाउने पार्टी विधानको सुविधा उपयोग गर्दै आएको कांग्रेसले फागुनमा महाधिवेशमा महाधिवेशन गर्न नसके संवैधानले दिएको विशेष मौका गुहार्नुपर्ने अवस्था आउनसक्छ। एक वर्ष म्याद थप्दा पनि हुन नसके विशेष परिस्थितिमा थप छ महिनामा महाधिवेशन गर्नसकिने संवैधानिक व्यवस्थाको बाटो हेरेर कांग्रेस महाधिवेशनको मिति सार्ने आन्तरिक छलफलम लागेको छ।

नेपालमाला
