काठमाडौं : सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय कमिटी बैठक स्थगित भएको छ। कातिक १५ देखि १७ गतेका लागि बोलाइएको केन्द्रीय कमिटीको तेस्रो बैठक स्थगित भएको हो। विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमणको त्रास अझै भएकाले स्थगित भएको नेकपाले जनाएको छ।
नेकपाका केन्द्रीय कार्यालयका सचिवद्वय ईश्वरी रिजाल र श्रीराम ढकालले विज्ञप्ति सार्वजनिक गर्दै स्थगित भएको जानकारी दिएका हुन्।
बैठक मङ्सिर १५ देखि १७ गतेसम्म हुने विज्ञप्तिमा उल्लेख गरिएको छ। आगामी चैतको अन्तिम साताका लागि तोकिएको नेकपाको एकतापछिको राष्ट्रिय महाधिवेशनका लागि केन्द्रीय कमिटी बैठक बोलाइएको भए पनि पटकपटक स्थगित हुँदै आएको छ।
गत भदौ २६ गतेको स्थायी कमिटी बैठकले पार्टीको आन्तरिक विवादलाई समाधान गर्दै मन्त्रिमण्डल पुनर्गठन, केन्द्रीय कमिटी बैठक र एकताको महाधिवेशन गर्ने निर्णय पारित गरेको थियो।
केन्द्रीय कमिटी सदस्य ४४७ जनासहित सुरक्षाफौज र बैठक व्यवस्थापन गर्न कम्तीमा तीन हजार जनशक्ति आवश्यक पर्न जान्छ। कोरोना सक्रमण बढ्दै जाँदा बैठक तत्कालका लागि सरेको हो ।
देशभर संक्रमितको संख्या एक लाख ६० हजार चार सय पुगेको छ । जसमध्ये एक लाख १८ हजार ८४३ जना डिस्चार्ज भएका छन् ।
मन्त्रालयका अनुसार ४० हजार ६८१ सक्रिय संक्रमित छन् । पछिल्लो २४ घण्टामा ५७० जनामा संक्रमण पुष्टि हुँदा ३१ सय ६८ जना डिस्चार्ज भएका छन् । अहिलेसम्म मृतकको संख्या ८७६ पुगेको छ । सबैभन्दा धेरै उपत्यकामा संक्रमित भेटिएका छन् ।

नेपालमाला
