चितवन : चितवन जिल्ला तेक्वान्दो कार्यसमितिले १३औं दक्षिण एसियाली खेलकुद (साग) का पदक विजेता जिल्लाका तेक्वान्दो खेलाडीलाई सम्मान गरेको छ ।
चितवनको सौराहमा बिहीबार आयोजित कार्यक्रममा सागका स्वर्ण विजेता संगीता बस्याल र पार्वती गुरुङ तथा कांस्य पदक विजेता शिशिर श्रेष्ठ र जितबहादुर बोटलाई कार्यसमितिले सम्मानित गरेको हो । सागका पदक विजेता चारै खेलाडीलाई नगद १० हजारबाट सम्मान गरिएको हो ।
कार्यक्रममा राष्ट्रियस्तरका खेलाडी उत्पादन गर्न सफल प्रशिक्षक रोशन खानलाई पनि नगद १० हजारसहित सम्मान गरेको थियो । सोही कार्यक्रममा चितवनका पत्रकार अनिल मल्ल ठकुरी र होमनाथ सापकोटालाई पनि सम्मान गरिएको थियो ।

संगीताले ग्यारोगीको ६२ केजी तौलसमूह र पार्वतीले २४–२९ वर्ष उमेर समूहको व्यक्तिगत पुम्सेमा स्वर्ण पदक जितेका थिए । जितबहादुरले २९ वर्षमुनि पार्वतीसँगै पेयर पुम्से र पुरुष टिमको पुम्सेमा कांस्य जितेका थिए । शिशिरले भने २३ वर्षमुनि टिम पुम्सेमा कांस्य जितेका थिए ।
उनीहरूलाई बागमति प्रदेश सांसद कृष्ण खनाल, रत्ननगर नगरपालिका प्रमुख नारायण वन, चितवन जिल्ला तेक्वान्दो कार्यसमितिका अध्यक्ष गोपाल श्रेष्ठलगायतले सम्मान गरेका थिए । सोही कार्यक्रममा जिल्ला कार्यसमितिले जिल्लाका ३४ जना खेलाडी छनोट गरेको थियो ।


नेपालमाला
