काठमाडौं : काठमाडौं उपत्यकामा थप १७४६ जना कोरोना भाइरसका संक्रमित थपिएका छन्। शनिबार स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा डा जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा थप १७४६ जनामा कोरोना पुष्टि भएको हो।
त्यसमध्ये काठमाडौंका १ हजार ४ सय ५१ जना, भक्तपुरका १ सय ५३ जना र ललितपुरका १ सय ५२ जना छन्।
पछिल्लो २४ घण्टामा नेपालमा तीन हजार एक सय ६७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा संक्रमितको संख्या एक लाख २९ हजार ३०४ पुगेको छ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार नेपालमा सक्रिय संक्रमितको संख्या ३८ हजार ७३७ पुगेको छ। अहिले संस्थागत आइसोलेशनमा १३ हजार २९९ जना रहेका छन् भने होम आइसोलेशनमा २५ हजार ४३८ जना छन्। यस्तै क्वारेन्टाइनमा चार हजार ७१५ जना छन्।
शनिबार १८०० जना डिस्चार्ज भएका छन्। योसँगै नेपालमा कोरोना जित्नेको संख्या ८९ हजार ८४० पुगेको छ। यो कुल संक्रमितको ६९ दशमलव चार प्रतिशत हो।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १२ जनाको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोनाले मृत्यु हुनेको संख्या ७२७ पुगेको छ।
मन्त्रालयका अनुसार पाँच सय बढी संक्रमित हुने जिल्लामा मोरङ, सुनसरी, मकवानपुर सुर्खेत, ललितपुर, काठमाडौं, भक्तपुर, चितवन, दाङ, बाँके, कास्की, रुपन्देही हुन् । अहिलेसम्म ७७ जिल्लामध्ये मुस्ताङमा मात्र कोरोना संक्रमण देखिएको छैन ।
मन्त्रालयका अनुसार अहिले आईसीयू २९० र भेन्टिलेटर ६६ जनाको उपचार भइराखेको छ ।

नेपालमाला
