काठमाडौं : पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा कोरोना भाइरस (कोभिड-१९)बाट ५ जनाको मृत्यु भएको छ भने ७६७ जनामा संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौंमा ४०,६०,६३ वर्षीया महिला,ललितपुरमा ७५ वर्षीया महिला र भक्तपुरमा ७२ वर्षीया महिलाको कोरोनाबाट मृत्यु भएको हो। नेपालमा कोरोनाबाट हालसम्म ४११ जनाको मृत्यु भएको छ। आइतबार मात्रै १० जनाको मृत्यु भएको छ।
काठमाडौंका ६०२, भक्तपुरका १०१ र ललितपुरका ६४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको मन्त्रालयले प्रवक्ता डा.गौतमले जानकारी दिए। यस्तै पछिल्लो २४ घण्टामा १३ सय २५ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ६४ हजार १२२ पुगेको छ।
१७ हजार ४७८ कोरोनाका सक्रिय संक्रमित छन्। यस्तै मन्त्रालयका अनुसार संस्थागत आइसोलेसनमा ९ हजार ७१ जना रहेका छन् भने होम आइसोलेसनमा ८ हजार ४०७ जना छन्। यस्तै क्वारेन्टाइनमा ७ हजार ४५१ जना रहेका छन्। मन्त्रालयका अनुसार नेपालमा २४ घन्टामा ९ हजार ५८४ पीसीआर परीक्षण गरिएको छ।
पछिल्लो २४ घण्टामा ९६६ जना कोरोना जितेर डिस्चार्ज भएका छन्। यो ७२ प्रतिशत हो। योसँगै कुल डिस्चार्ज हुनेको संख्या ४६ हजार २३३ पुगेको छ। मोरङ, सुनसरी, सिराहा, काठमाडौं, भक्तपुर, ललितपुर, मकवानपुर, चितवन र रुपन्देहीमा पाँच सय बढी संक्रमित रहेका छन् भने म्याग्दी, सोलुखुम्बु, मुस्ताङ, डोल्पा, मुगु र हुम्ला, रसुवामा संक्रमितको शून्य संख्य रहेको छ। आइसीयूमा र भेन्टिलेटरमा ३६ जनाको उपचार भइरहेको छ।

नेपालमाला
