काठमाडौं : नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण दलले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि तत्काल फिर्ता लिन माग गरेको छ । नेपाल तरुण दलका अध्यक्ष जितजंग बस्नेतले कोरोना भाइरसको महामारीका कारण आयआर्जनका गतिविधि ओरालो लागिरहेका बेला गरिएको मूल्यवृद्धि तत्काल फिर्ता लिन माग गरेका हुन् ।
‘कोरोनाका कारण आय आर्जनका गतिविधि ओरोलो लागिरहेको समयमा यसरी बेलाबेलामा हुने पेट्रोलियम पदार्थको मूल्यवृद्धिका कारण दैनिक उपभोग्य सामग्रीको मुल्यमा वृद्धि हुन गई महंगीका कारण आम मानिसको जीवनयापनमा गम्भीर असर पर्ने निश्चित छ’, अध्यक्ष बस्नेतले भनेका छन्, ‘यस्तो समयमा पनि आम मानिसका समस्यामाथि गम्भीर नहुने यस्तो नालायक सरकारको घोर निन्दा गर्दछु । साथै बढेको पेट्रोलियम पदार्थको मूल्यवृद्धि अबवलम्ब फिर्ता गर्न जोडदार माग गर्दछु ।’
महामारीले जनताको जीवनयापन असहज र कष्टकर भइरहेका बेला उनीहरुलाई राहत तथा सहुलियत दिनुपर्ने बेला सरकार निरन्तर नागरिकलाइ थप पीडा दिन र चुलो बन्द गराउन उद्धत देखिएपछि तरुण दलले मूल्यवृद्धि तत्काल फिर्ता लिन माग गरेको हो ।
नेपाली कांगेसकै भातृ संगठन नेपाल विद्यार्थी संघले पनि पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिको विरोध गर्दै तत्काल फिर्ता लिन माग गरेको छ ।
नेपाल आयल निगमले शनिबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर दुई रुपैयाँ वृद्धि गरेको थियो। यस्तै डिजल र मट्टीतेलमा प्रतिलिटर एक रुपैयाँ पचास पैसा वृद्धि गरेको छ।
इन्डियन आयल कर्पोरेसनबाट प्राप्त खरिद मूल्यअनुसार पेट्रोलियम पदार्थको मूल्य केही बढेर आएकाले मूल्यमा केही वृद्धि गरिएको आयल निगमले जनाएको छ ।

नेपालमाला
