तनहुँमा चितुवा आतंक, आँगनमा बसिरहेकी बालिकामाथि आक्रमण

दमौली : तनहुँको आँबुखैरेनी गाउँपालिका–१ समस्तीपुरमा गएराति चितुवाको आक्रमणबाट एक बालिका घाइते भएकी छन् । घाइते हुनेमा १० वर्षीया अमिषा थापा रहेको डिभिजन वन कार्यालयले जनाएको छ । घरको आँगनमा बसिरहेको बेला चितुवाको आक्रमणबाट घाइते भएकी बालिकालाई राति नै उपचारका लागि भरतपुर पठाइएको कार्यालयका प्रमुख केदार बरालले जानकारी दिनुभयो । उनीको घाँटीमा चोट लागेको छ ।

हजुरबुवा धनबहादुर पन्तको घरमा बसिरहेकी ती बालिका सोही ठाउँको चन्द्रोदय माध्यमिक विद्यालयमा कक्षा ३ मा अध्ययनरत छिन् । “रातिको समयमा घरको आँगनमा बसेका बेला चितुवाले आक्रमण गरी बालिकालाई घाइते बनाएको छ, रातको समय भएकाले चितुवाले आक्रमण गर्न सजिलो हुने हुनाले विशेष सतर्कता अपनाउनुपर्छ”, प्रमुख बरालले भन्नुभयो ।

विसं २०७४ फागुनयता चितुवाको आक्रमणबाट नौ बालबालिकाले ज्यान गुमाएका छन् । पछिल्लोपटक गत वैशाख २५ गते भानु नगरपालिका–४ चुँदीमा चितुवाको आक्रमणबाट स्थानीय ३६ वर्षीय रामबहादुर कुमाल घाइते हुनुभएको थियो । त्यसयता चितुवाको आक्रमण रोकिएकामा पुनः चितुवाको आक्रमणबाट शुरु भएपछि स्थानीयवासी त्रसित छन् ।

चितुवाका आहारा प्रजाति मृग, बँदेल, खरायो, वनकुखुरा आदि वनमा लोप हुँदै गएपछि चितुवा बस्तीमा प्रवेश गरी बालबालिकामाथि आक्रमण गर्न थालेको डिभिजन वन प्रमुख बरालको भनाइ छ । “ठूला मान्छेलाई भन्दा साना बालबालिकालाई आक्रमण गर्न सजिलो हुने भएकाले चितुवाको निशानामा बालबालिका पर्दै गएको देखिन्छ”, उहाँले भन्नुभयो, “साँझको समयमा चितुवा आक्रमण हुने भएकाले त्यसबेला विशेष ध्यान पु¥याउनुपर्छ ।”
यसैवीच लायन्स क्लब इन्टरनेशनल ३२५ बी–१ नेपाल डिष्ट्रिकअन्तर्गतको क्लष्टर १४ र लायन्स क्लब अफ काठमाडौँ स्वयम्भू टाउनले तनहुँको भानु र व्यास नगरपालिकाका पहिरोपीडितलाई सहयोग गरेको छ । क्लबले भानु–९ सिमलगैह्रा र व्यास–९ माझफाँटका पहिरोपीडितलाई रु एक लाख १५ हजार नगद र लत्ताकपडासहितका सामग्री सहयोग गरेको हो ।

सिमलगैह्राका पहिरोपीडितलाई रु ४५ हजार र माझफाँटका पहिरोपीडितलाई रु ७० हजार उपलब्ध गराइएको क्लष्टर १४ का प्रमुख राजकुमार श्रेष्ठले जानकारी दिनुभयो । उक्त रकम क्लबले भानु–९ का वडाध्यक्ष निलमसञ्जीवा श्रेष्ठ र व्यास–९ का वडाध्यक्ष सुरेश थापालाई हस्तान्तरण गरेको छ । पहिरोले पुरिएर सिमलगैह्रामा एकै परिवारका दुई र माँझफाँटमा एकै परिवारका तीन जनाको अकालमा निधन भएको थियो । माझफाँटमा एक पहिरोले पुरिएर अझै बेपत्ता छन् ।

पहिरोपीडितलाई सहयोग गर्न लायन्स क्लब इन्टरनेशनल ३२५ बी–१ नेपाल डिष्ट्रिकले रु ५० हजार र लायन्स क्लब अफ काठमाडौँ स्वयम्भू टाउनले रु एक लाख ३० हजार सहयोग गरेको छ । क्लबले म्याग्दे र भीमादका पहिरोपीडितलाई पनि आर्थिक सहयोग गर्ने जनाएको छ ।

0 0 vote
Article Rating

LEAVE A COMMENT

guest
0 Comments
Inline Feedbacks
View all comments